काठमाडौं– एक अध्ययन अनुसार नेपालका २१ प्रतिशत बालबालिकामा जिन्क नामक पोषण तत्वको कमी देखिएको छ । जसका कारण बालबालिकामा पुड्कोपन र विभिन्न रोग लाग्ने सम्भावना बढी रहने गरेको छ । यसैगरी एक चौथाई प्रजनन उमेरका महिलामा पनि यही समस्या देखिएको ‘नेपाल राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षण’ले यस्तो देखाएको छ।
बुधबार काठमाडौं सार्वजनिक गरिएको सर्वेक्षणमा २० प्रतिशत बालबालिका र ४० प्रतिशत प्रजनन उमेरका महिलामा हेलिब्याक्टर पाइलरी भाइरस देखिएको छ । यो भाइरसका कारण पेट दुख्ने, वाकवाकी आउला जस्तो महशुस हुने र ग्यास्ट्राइटिस हुने समस्या आउाछन् । पछि गएर पेप्टिक अल्सर र आमाशयको क्यान्सर जस्तो गम्भीर समस्या आउने सम्भावना पनि उत्तिर रहेको विशेषज्ञहरु बताउँछन्।
रक्तअल्पताको समस्या पनि धेरै पाइएको छ । हरेक ५ मा १ बालबालिका, किशोरी र प्रौढ महिलाहरुमा रक्त अल्पताको समस्या रहेको सर्वेक्षणले देखाएको छ । २७ प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या रहेको छ भने २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरी र १९ प्रतिशत प्रजनन् उमेरका महिलाहरुमा सुक्ष्मपोषण तत्व आइरनको कमी रहेको बताइएको छ।
सर्वेक्षणको निष्कर्ष अनुसार १४ प्रतिशत गर्भवती महिला, ११ प्रतिशत बालबालिका, ८ प्रतिशत प्रजनन उमेरका महिला र ७ प्रतिशत किशोरीहरु आइरनको कमीले हुने रक्तअल्पताबाट ग्रसित छन्।
नेपालमै पहिलोपटक १० देखि १९ वर्षका किशोरहरुमा रक्तअल्पताको जाँच गरिएको छ । जसअनुसार ११ प्रतिश्त किशोरहरुमा रक्तअल्पता, ५ प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ।
नेपालमा ४ प्रतिशत बालबालिका, ३ प्रतिशत प्रजनन उमेरका महिलामा भिटामिन ए को कमी देखिएको छ।
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा युएसआइडी, सिडिसी, युरोपियन युनियन, न्यु एरा र युनिसेफले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । ७३ जिल्लाका १८० वटा कलस्टरको ४ हजार ३ सय २० घरधुरीका १२ हजार ५ सय १२ महिला, किशोरकिशोरी तथा बालबालिकामा सर्वेक्षण गरिएको हो।
सर्वेक्षणको नतिजालाई मिहिन ढंगले विश्लेषण गरेर नीति बनाइने मन्त्रालयको परिवार कल्याण महाशाखा प्रमुख डा आरपी विच्छाले बताए । उनले भने, ‘यो नतिजाले हामीलाई जनस्वास्थ्यका क्षेत्रमा अगाडि बढ्ने बाटो देखाएको छ । हामी भोलिदेखि नै फरक–फरक कार्यदल भएर यसमाथि छलफल चलाउनेछौं ।’