काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महत्वपूर्ण र गम्भिर फाइल हेर्ने जिम्मा गरै कर्मचारीलाई दिन थालिएको छ। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले आफूकहाँ आउने हरेक फाइल हेर्ने गरी कृष्ण थापा नाम गरेका व्यक्तिलाई जिम्मेवारी दिएकी छिन्।
थापा स्वास्थ्य मन्त्रालयका कर्मचारी नै होइनन्। उनलाई कामकाजको जिम्मेवारी दिने गरी करारमा समेत नियुक्त गरिएको छैन। तर, केही दिन यता थापा स्वास्थ्य सचिवको कोठामा पुग्ने हरेक फाइल ओसारपसार गर्ने जिम्मेवारी सम्हालिरहेका छन्।
थापा सचिवको मुल कार्यकक्ष भन्दा बाहिर रहेको कोठामा कुर्सी र कम्प्युटरमा काम गरिरहेका भेटिन्छन्। उक्त कुर्सीमा केही समयअघि मन्त्रालयकै एक स्थायी कर्मचारी कार्यरत थिए। तर, उनलाई अन्यत्र सरुवा गरेर गैर कर्मचारीलाई त्यहाँ राखिएको छ।
स्रोतका अनुसार सचिव चौधरीले एनजिओबाट थापालाई तलब तथा अन्य सुविधा दिने गरी जिम्मेवारी दिएकी हुन्। संघीयता कार्यान्वयनका क्रममा कर्मचारीहरुको हेरफेर लगायतका विषयमा सचिवले थापाकै सहयोगमा आर्थिक लगायतका अन्य चलखेल समेत गर्ने गरेको स्रोत बताउँछ।
‘मन्त्रालय बाहिरको कर्मचारी ल्याएर चलखेल गर्न सहज बनाइएको छ,’ स्रोत भन्छ, ‘मन्त्रालयका कर्मचारीहरुलाई बाइपास गरेर गैर कर्मचारीलाई गोप्य र महत्वपूर्ण फाइल हेर्ने जिम्मेवारी दिनुको पछाडी ठूलो चलखेल छ।’
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख मधुसुदन बुर्लाकोटीलाई थापाको विषयमा जिज्ञासा राख्दा कृष्ण थापा नाम गरेको व्यक्ति मन्त्रालयमा स्थायी, अस्थायी र करार कुनै पनि दरवन्दीमा कार्यरत नरहेको जानकारी दिए।
‘हालसम्म निज व्यक्तिलाई कर्मचारी प्रशासन महाशाखले कहीँ पनि खटाएको छैन,’ उनले भने, ‘उहाँ स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत हुनुहुन्न । तर, मन्त्रालयमा आएर कुर्सीमा बसिरहेको भने देखेको छु ।’
८ सहसचिव कामविहिन
मन्त्रालयमा गैर कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिइएको र दुई महिनादेखि ८ जना सहसचिवलाई भने कामविहिन बनाइएको भन्दै स्वास्थ्य सचिवको आलोचना भइरहेको छ।
मन्त्रालयले ११ औं तहका ८ जना सहसचिवलाई दुई महिनादेखि कुनै पनि भुमिका दिएको छैन। उनीहरु हरेक दिन मन्त्रालय आउने, हाजिर गर्ने र केही समय बसेर निस्कने गरिरहेका छन्। कार्यकक्ष समेत नदिएका कारण उनीहरुलाई ‘बरान्डा’ महाशाखा प्रमुख भन्दै कर्मचारीहरुले जिस्काउने गरिरहेका छन्।
मन्त्रालयले दुई महिनादेखि भुमिका नदिएका सहसचिवमा डा रमेश खरेल, डा विकास लामिछाने, महेन्द्र श्रेष्ठ, बद्रीबहादुर खड्का, राधिका थपलिया, यदुचन्द्र घिमिरे, अनुज भट्टचन र सुस्मीता भण्डारी रहेका छन्।