पाेखरा– गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित गर्ने पहिलो प्रदेश बनेको छ। प्रदेशका ११ वटा जिल्ला पूर्ण खोप घोषणा भएपछि बुधबार सामाजिक विकास मन्त्रालयले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरेको हो।
खोप सुनिश्चित घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्ण खोपको सुनिश्चित गर्न चुनौती भए पनि कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।
‘गण्डकी प्रदेश सबै कुरामा पहिलो हुन चाहन्छ, यो पनि एउटा उपलब्धी हो,’ उनले भने, ‘प्राकृतिक रुपमा नभएका पक्ष बाहेक सबै कुरामा पहिलो हुँदै आएका छौँ।’
केन्द्र सरकारले स्थानीय तहको विकास हेर्न नचाहने मुख्यमन्त्री गुरुङले आरोप लगाए। ‘एउटा सिटिस्क्यान मेसिन नभएर गण्डकी अस्पतालको हालत कुन अवस्थामा पुगेको छ? त्यसको समस्या हल आफैं गर्छौँ भन्दा पनि सरकार मौन छ,’ उनले भने।
संघीय सरकारले कर्मचारी नियुक्त गर्न तथा नीति नियम निमार्ण गर्न पनि ढिलाइ भएकै कारण प्रदेश सरकारले महत्वपूर्ण निर्णय गर्न नसकेको उनको आरोप थियो।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले एकजना बच्चा पनि खोपबाट वञ्चित नहने साथै पूर्ण खोपको दीगोपन कायम गर्नु आफूहरूको दायित्व रहेको बताइन्।