दैलेख– दुल्लु अस्पतालमा चिकित्सकसहित अन्य सुविधा नहुँदा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । कहिले चिकित्सक नहुने, कहिले अस्पतालमा औषधि नहुने र कहिले खानेपानीको अभाबले स्वास्थ्य सेवा प्रभावित भएको हो।
एउटा दशौँ तहको विशेषज्ञ चिकित्सक र दुईवटा आठौँ तहको चिकित्सकको दरबन्दी रहेको उक्त अस्पताल स्थापनाकालदेखि हालसम्म पनि माथिल्लो तहको विशेषज्ञ चिकित्सकको पदपूर्ति नहुँदा बिरामी उपचार पाउनबाट बञ्चित हुँदै आएका छन्।
विशेषज्ञसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अधिकांश पद अहिले पनि रिक्त छन् । दुई नगरपालिका र दुई गाउँपालिकालाई सेवा दिइरहेको अस्पतालमा बिरामीले भनेजस्तो सेवा पाउन सकेका छैनन् । अस्पतालमा चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत जिल्ला अस्पताल दैलेख र सुर्खेतमा सिफारिश गर्नुपर्ने बाध्यता छ ।
अहिले उक्त अस्पतालमा कार्यरत डा लीला देवकोटा अध्ययन बिदामा काठमाडौँ गएको र निमित्त प्रमुख डा लाल गुरुङ पनि एक हप्तामा अध्ययन बिदामा गएको अस्पतालका अहेव खड्गबहादुर शाहीले बताए।
अस्पतालमा चिकित्सक नहुँदा शव परीक्षणका लागि जिल्ला अस्पतालबाट चिकित्सक बोलाउनु परेको उनको भनाइ थियो।
चिकित्सक बिदामा बसेपछि अहिले स्टाफ नर्स र अहेवको भरमा चलिरहेको सो अस्पतालमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुन्डा विन्दासैनी नगरपालिका र अछामको तुर्माखादबाट पनि बिरामी उपचारका लागि आउने गर्छन्।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मात्रिकाप्रसाद रिजालले चिकित्सकले विभिन्न बहाना बनाउँदै अस्पताल छाड्ने गरेकाले बिरामीको उपचारमा समस्या भएको बताए। दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले नियमित चिकित्सक बस्ने वातावरण मिलाउन आफूले पहल गरिरहको बताए।
अहेव शाहीले दुई चिकित्सक एक साताभित्र आइपुग्ने जानकारी आएको छ भन्दै चिकित्सकको अभाबमा पनि जेनतेन सेवा दिइरहेको बताए।
अस्पतालमा सबै औषधि उपलब्ध भए पनि भिडियो एक्सरे गर्ने उपकरण पाँच महिनादेखि बिग्रिएर थन्किएको छ । ।ासस