काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झुटो विवरण पेश गरी अध्ययनमा रहेका कर्मचारीमाथिको छानिविन तिव्र बनाएको छ। सो क्रममा एचए प्रकाश घिमिरेको मनोनयन गलत भएको भेटिएको छ।
बझाङमा कार्यरत एचए घिमिरेलाई स्वास्थ्य सचिव पुष्पा चौधरीले मनोनयन गरेकी थिइन्। घिमिरेलाई साउन १७ गते सचिवस्तरीय निर्णय गर्दै एमपिएच अध्ययनका लागि छनोट गरिएको थियो। घिमिरे एमपिएच अध्ययनका लागि थाइल्यान्ड पुगिसकेका छन्।
घिमिरेले यसअघि बिपिएच पनि बझाङ बसेर चितवनमा अध्ययन गरेका थिए।
घिमिरेको मनोनयनमा त्रुटी भएको भन्दै कर्मचारी प्रशासन महाशाखाले विदा स्विकृत गर्न नमिल्ने राय दिइसकेको छ। उक्त विषयमा मन्त्रालयकै कानुन शाखाले पनि यो विषयमा छानबिन गर्नुपर्ने राय दिएको छ।
घिमिरेको मनोनयन गलत भएको भन्दै राय दिनेमा तत्कालिन कर्मचारी प्रशासन महाशाखा प्रमुख मधुसुदन बुर्लाकोटी हुन्। बुर्लाकोटीलाई यो विषयमा जिज्ञासा राख्दा उनले आफ्ने जिम्मेवारी फेरिएर जनसंख्या महाशाखामा आएकाले उक्त विषयमा थप के भयो भन्ने अवगत नभएको बताए। ‘घिमिरेको मनोनयनका क्रममा त्रुटी देखिएको हो,’ उनले भने, ‘अब उक्त विषयमा के कस्तो काम भइरहेको छ मलाई अवगत छैन।’ बुर्लाकोटीको जिम्मेवारी बिहिबार फेरिएको हो।
मन्त्रालयले यसअघि पनि छानविनका क्रममा झुटा विवरण पेश गरी वीर अस्पतालमा अध्ययन गरिरहेको फेला परेपछि सन्तोषी पराजुलीलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ।
नियमअनुसार यसरी गलत मनोनयन भएका वा झुटा विवरण पेश गर्ने कर्मचारीको अध्ययन स्विकृती रद्ध गर्ने, तलब भत्ता असुल उपर गर्ने, झुटो विवरण पेश गरेकोमा विभागिय कारबाही गर्दै अन्य निकायमा पनि आवश्यकता अनुसार कारबाहीका लागि पठाउने र सेवा अवधि समेत गणना नगर्नेसम्मको कारबाही हुने छ।