काठमाडौं– डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने भएका छन्। काठमाडौंमा भने माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ। मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आन्दोलनमा उत्रेका डाक्टरहरुले १० बजेदेखि प्रदर्शन गर्ने भएका हुन्।
नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प हुने भएको छ। सेवा ठप्प पारेर डाक्टरहरु प्रदर्शनमा उत्रने भएका हुन्। संघले देशभरका जिल्ला शाखाहरुलाई प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न भनेको छ।
‘काठमाडौं उपत्यकाको हकमा अपरान्ह १० बजे माइतीघर मण्डलामा तथा शाखाहरुको हकमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एप्रोन सहित अनिवार्य उपस्थित भई विरोध कार्यक्रम संचालन गर्नु हुन समेत सम्पूर्ण स्वाथ्यकर्मी तथा चिकित्सकहरुमा हार्दिक अनुरोध गरिन्छ’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले मुलुकी ऐन २०७४ को परिच्छेद १९ मा रहेको इलाज सम्बन्धी कसूर सम्बन्धमा आपत्ति जनाउँदै चार वटा संशोधनको माग गरेको छ।
दफा नम्बर २३० मा रहेको उपदफा २ लाई खारेज गर्नुपर्ने माग गरेको छ।
जहाँ 'लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाइ सानो तिनो रोग लागेको बिरामीलको मानव अंगलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधी खुवाउन वा सानोतिनो घाउ, खटिरा, चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन' भन्ने लेखिएको छ।
त्यसगैरी दफा नम्बर २३१ मा रहेको व्यवस्थालाई पनि खारेज गर्नुपर्ने माग संघको रहेको छ।
यसमा भनिएको छ 'कसैले–कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो औषधी खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अंगको चिरफार गर्नु पर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्न वा गराउन हुँदैन।'
त्यसैगरी दफा नम्बर २३२ मा रहेको लापारबाही वा हेलचक्र्याइँ, बदनियत चिताइ इलाज गर्न नहुने शब्दलाई पुष्टि गर्न विशेषज्ञ समिति बनार्इ छानबिन गर्नु पर्ने आग्रह गरेको छ।
क्षतिपूर्ति भराइ दिनु पर्ने भन्ने शीर्षकमा परिच्छेद बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अंगभंग भएमा वा अन्य हानी, नोक्सानी वा क्षति पुगेकामा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराइ दिनु पर्नेछ भन्ने सम्बन्धमा पनि खारेज गर्नुपर्ने बताएको छ।
ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरुलाई हातपात गरेको खण्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई संशोधन गरी बिना धरौटी हिरासतमा राख्ने व्यवस्था सुनिश्चित गरिनुपर्ने चिकित्सक संघको माग छ।