काठमाडौं- डा सुदीपकुमार भट्टाचार्यलाई धेरैले छोटकरी नाम एस के भट्टाचार्यका रुपमा चिन्छन्। चिकित्सकीय पेसामा इमान्दार र निडर स्वभावका डाक्टरका रुपमा उनी चिनिन्छन्। ८३ वर्षीय डा भट्टाचार्य नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष पनि हुन्। चिकित्सकीय अभ्यासमा नै रमाउने डा भट्टाचार्यले पूर्व प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराईको मन्त्री बन्नुपर्ने प्रस्तावदेखि गिरिजाप्रसाद कोइरालाले श्रीमतीलाई राजदूत बनाउने प्रस्तावसमेत अस्वीकार गरे।
डा सुदीपकुमार हक्की स्वभावका छन्। एकपटक एक जना मन्त्रीले अनावश्यक दबाब दिएपछि ट्वाइलेट पेपरमा राजीनामा लेखेर दिएका थिए उनले। मन्त्रीको हर्कत थाहा पाएपछि तत्कालीन सरकारले ती मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो।
डाक्टर भट्टाचार्य काठमाडौं उपत्यका बाहिर जाने नेपालका पहिलो सर्जन हुन्। तर, बुढ्यौलीका कारण उनले तीन वर्षअघिबाट बिरामीको उपचार गर्न छाडेका छन्। सरकारी सेवामा रहँदा उनले कहिले पनि निजी अस्पतालमा काम गरेनन्। उनै भट्टाचार्य आज नेपाल चिकित्सक संघले आयोजना गरेको विरोध र्यालीमा सहभागी भएका थिए।
सरकारले ल्याएको नयाँ मुलुकी संहितामा डाक्टरलाई अपराधीका रुपमा लिइएको भन्दै चिकित्सकहरुले उक्त ऐनमा रहेको व्यवस्था खारेजीको माग गरेका छन्। विरोध र्यालीमा सहभागी डा भट्टाचार्यले पनि ऐनको विरोध खुलेरै गरे। उनले कार्यक्रममा व्यक्त गरेको धारणा यस्तो छः
म अहिले ८३ वर्षको भएँ। मैले २००७ साल देखें, ०३६ साल देखें, ०४६ साल देखें, ०६२/६३ को जनआन्दोलन पनि देखें। जुन बेला ०४६ सालको आन्दोलन हुँदै थियो, हामी केही डाक्टरहरुमाथि सरकारले खुब निगरानी राखेको थियो। टाउकोको मूल्य तोकेको थियो। मेरो टाउकोको मुल्य त्यति बेलै १० लाख तोकिएको थियो। अरु साथीहरुको टाउकोको मूल्य पनि त्यस्तै थियो। त्यो ठूलो कुरा होइन।
म यहाँ किन मुख देखाउन आएको भन्दा हाम्रो एकताको लागि हो। हामी एकताबद्ध भयौं भने धेरै गर्न सकिन्छ। म दरबार भित्रको कुरा भन्दै छु। दरबारमा मिटिङ हुँदै थियो। त्यती बेला हामीले पूर्व रानीको शल्यक्रिया गरेका थियौं। तर, दरबारको मिटिङमा रानीले कमान्डर इन चिफलाई यिनीहरुलाई मारेर सिध्याइदेउ न भनेकी थिइन्। त्यस बेलाका कमान्डर इन चिफ सत्चित शम्शेर राणाले सरकार अब यिनीहरु बुद्धिजीवी उठिसके। अब यो आन्दोलनलाई दबाउन सकिँदैन भनेर जवाफ दिए।
त्यसबेला गोली ठोक्न भनेर मलाई विराटनगर लगिएको थियो। तर अझै बाँचिरहेको छु। राजा महेन्द्रको भ्रमणको एक दिन अघि मलाई मार्न लगिएको थियो, मारेनन्। मैले मेरो पछाडि नहान भनेको थिएँ। मलाई थाहा थियो त्यो इन्स्पेक्टरले मलाई गोली हान्नेवाला छ।
त्यो पुरानो कुरो हो। जब त्यो बेलाको खुङ्खार पञ्चायतकालकी रानी र अरुसँग हामी दब्न सकेनौँ। अहिलेको त झन् के र? दुई तिहाइको बहुमत रे, कसले दिएको हो दुई तिहाइ?
यिनै केपी शर्मा ओली म सँग बसेर फिजियोथेरापी गराउँथे। मलाई थाहा छ नि। फुर्ति गर्नु चाँहि हुँदैन। बढी फुर्ति गर्योँ भने तल झरिन्छ। त्यसकारण मेरो अनुरोध छ, ऐन सच्याउनुहोस्।
म बुढो मान्छे, मलाई सञ्चो छैन। तर मलाई केटाहरुले माया गरेर मोटरसाइकलमा यहाँ ल्याइदिएको हो। म चलाउन पनि सक्दिन। सबैलाई हेर्न यहाँ आएको हुँ। र खुसी पनि लाग्यो। यो एकता कायम नै रहोस्। म जस्तो बुढोको त यत्रो हिम्मत छ भने तपाईहरु त भर्खरको हो। यो अन्याय सहनु भएन। हिम्मत राख्नुहोस् तपाईहरु सफल हुनुहुन्छ।
भिडियो :