रुपन्दही- प्रदेश ५ मा सामाजिक विकास मन्त्रालयले प्रदेशका १६ अस्पताल विकास समिति अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सरुवा गर्ने तयारी गरेको छ।
मन्त्रालयले यसका लागि आवश्यक तयारी अगाडि बढाएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए। मन्त्रालयले प्रदेश अन्तर्गतका उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पतालमा विकास समिति अन्तर्गत नियुक्त भएका कर्मचारीलाई एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा गर्न लागेको हो।
‘यसका लागि आवश्यक कानुन बनाइरहेका छौं,’ मन्त्री बरालले भने, ‘त्यसपछि नियमअनुसार विकास समितिका कर्मचारीलाई पनि स्वास्थ्य सेवा अन्तर्गतका अन्य स्थायी कर्मचारीको जस्तै एक स्थानबाट अर्को स्थानमा सरुवा हुने छ।’ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि यस्तो व्यवस्था ल्याउन लागिएको जानकारी उनले दिए।
उनका अनुसार विकास समितिका कर्मचारी काम भन्दा पनि अन्य कुरामा बढी व्यस्त हुने गरेको, नेता तथा समितिका अध्यक्षको चाकडीमा बढी लाग्ने गरेको लगायतका गुनासो आएपछि सरुवा गर्ने गरी नियम बनाउने तयारी अगाडि बढाइएको हो।
प्रदेश ५ मा एक उपक्षेत्रीय, तीन अञ्चल र १२ वटा जिल्ला अस्पताल गरी गरी जम्मा १६ अस्पतालमा विकास समिति अन्तर्गतका कर्मचारी छन्। सरकारले हालै मात्र ती अस्पतालका विकास समिति खारेज गरिसकेको छ।