काठमाडौं– एनजिओबाट तलब खुवाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्त भएका एक कर्मचारीलाई हटाइएको छ। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले आफूकहाँ आउने हरेक फाइल हेर्ने गरी कृष्ण थापा नाम गरेका व्यक्तिलाई जिम्मेवारी दिएकी थिइन्।
तर, मन्त्रालयका महत्वपूर्ण र गम्भिर फाइल हेर्ने जिम्मा गरै कर्मचारीलाई दिन थालिएको भन्दै विरोध अाएपछि उनलाई हटाइएको हो। थापा स्वास्थ्य मन्त्रालयको स्थायी, अस्थायी र करारका कर्मचारी थिएनन्। तर, केही दिन अघिसम्म उनी स्वास्थ्य सचिवको कोठामा पुग्ने हरेक फाइल ओसारपसार गर्ने जिम्मेवारी सम्हालिरहेका थिए।
थापा सचिवको मुल कार्यकक्ष भन्दा बाहिर रहेको कोठामा कुर्सी र कम्प्युटरमा काम गरिरहेका भेटिन्थे। उक्त कुर्सीमा केही समयअघि मन्त्रालयकै एक स्थायी कर्मचारी कार्यरत थिए। तर, उनलाई अन्यत्र सरुवा गरेर गैर कर्मचारीलाई त्यहाँ राखिएको थियो।
स्रोतका अनुसार सचिव चौधरीले एनजिओबाट थापालाई तलब तथा अन्य सुविधा दिने गरी जिम्मेवारी दिएकी थिइन्।