राजविराज– उपलब्ध स्रोत÷साधन ब्यवस्थित गर्न नसक्दा सप्तरीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा सुरु भएको डायलाइसिस सेवा प्रभावित हुन थालेको छ। अपेक्षा अनुसार सेवा उपलब्ध नभएपछि बिरामीहरु निरास हुन थालेका छन्।
उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले तीन साताअघि मात्रै डायलाइसिस सेवाको उद्घाटन गरेका थिए । उपलब्ध ४ मेसिन मध्ये २ मेसिन मार्फत् सेवा सुरु गरिएको थियो। अन्य दुइवटा मेसिन अहिलेसम्म पनि सञ्चालनमा ल्याइएको छैन।
दुई वटा मेसिन मात्र संचालनमा रहेकाले डायलाईसिस सेवा सुस्त छ । तर, बिरामीको चाप दिनदिनै वढ्दै गएको अस्पतालका मडिकल सुपरिटेन्डेण्ट चुमनलाल दासले वताए । अस्पतालका अनुसार ७ जना मृगौलाका रोगीले डायलाइसिस सेवा लिईरहेका छन् भने विहिवार साँझसम्म १४ जना बिरामी पालो पर्खेर वसेका छन्।
दुई वटा मेसिनमा प्राविधिक समस्या देखिएपछि दुई वटा मेसिनमात्रै संचालनमा रहेको अस्पतालले जनाएको छ । उद्घाटनकै समयमा पूर्ण क्षमतामा सेवा सुरु गर्न प्रयास भएपनि मेसिनको समस्याले अहिले पनि सोच अनुसार काम गर्न नसकिएको मेसु दासले वताए।
बिग्रिएका मेसिन मर्मतका लागि प्राविधिकले समय उपलब्ध नगराएको उनको भनाई छ । उनले भने– ‘हामीले पटक–पटक सम्पर्क गरिरेहका छौ, तर सम्भव भइरहेको छैन।’
डायलाइसिस सेवा संचालनमा स्वास्थ्यकर्मी र प्राविधिकको पनि अभाव छ । अहिले पनि बिराटनगरबाट प्राविधिक बोलाएर दुई जना नर्सको भरमा सेवालाई निरन्तरता दिइएको दासले जानकारी दिए। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका १ प्राविधिक र १ जना नर्सलाई बोलाएर डायलाइसिस सेवाको उद्घाटन गरिएको थियो।
डायलाइसिस सेवाका लागि तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको विशेष पहलमा दुईवटा मेसिनसहित २ करोड २४ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो भने स्वास्थ्य विभागमार्फ दुईवटा मेसिन थप गरिएको थियो । तिनै मध्येका दुई मेसिन सञ्चालन गरी मन्त्री यादवले भदौ १ गते डायलाइसिस सेवाको उद्घाटन गरेका थिए।