काठमाडौं– हेलिकोप्टर दुर्घटनामा बाँच्न सफल भएकी एक महिलाको उपचार र उद्धारका लागि पुगेको मेडिकसिटी अस्पतालको चिकित्सकहितको टोली खराब मौषमका कारण घटनास्थलमा पुग्न सकेको छैन।
चिकित्सकसहितको हेलिकोप्टरको टोली घटनास्थलबाट केही तलको स्थानमा बसेको छ। उद्धारका लागि पुगेको टोलीले दुर्घटनामा घाइते भएकी आनी डोल्मालाई स्थानीयको सहयोगमा केही तल ल्याएपछि उनको उपचार गर्ने तयारी भएको उद्धारका लागि गएका डाक्टर सञ्जय कार्कीले जानकारी दिए।
‘हामी मोवाइल आइसियुसहितको सुविधासहितको टोली आएका छौं,’ उनले भने, ‘घटनास्थलमा बादलको समस्याले हेलिकोप्टर पुग्न समस्या भएका कारण घाइतेलाई बोकेर केही तल ल्याउने प्रयास भइरहेको छ।’ उनले हेलिकोप्टर पुग्नसक्ने स्थानमा घाइतेलाई ल्याएपछि डोरीबाट तान्ने प्रयास गरेर भएपनि घाइतेको छिटो भन्दा छिटो उपचार प्रक्रिया थाल्ने जानकारी दिए।
उनका अनुसार दुर्घटनाको उद्धारका लागि उक्त क्षेत्रमा अहिले ४ वटा हेलिकोप्टर आइसकेको छ।
‘हामीले हेलिकप्टरमै मोवाइल आइसीयूको व्यवस्था गरेर दुर्घटनास्थल नजिकै आइपुगेका छौं’ डाक्टर संजय कार्कीले नुवाकोट बेत्रतावती नजिकैबाट नेपाललाइभसँग भने, ‘दुर्घटनास्थल अलिक विकट भएकाले हामी त्यहाँसम्म पुग्न सकेका छैनौं तर हाम्रो प्रयास जारी छ।’
दुर्घटनास्थलमा उद्धारटोली पुगेको र घाइतेलाई हेलिकप्टरमा रहेको मिनि आइसीयूसम्म ल्याएपछि उनलाई सुरक्षित तरिकाले काठमाडौंको मेडिसिटी ल्याइने छ।