विराटनगर- पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसङ्ख्या वृद्धिका कारण पुरानो भौतिक संरचनाले अहिले आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको अजनाएको छ।
विराटनगरमा अवस्थित यो अस्पताललाई प्रदेश सरकारले ऐतिहासिक अस्पतालको रुपमा विकास गर्न खोजेको छ। प्रदेश सरकारले यसलाई शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको र अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्न स्वायत्त संस्था बनाउन प्रक्रिया थालिसकेको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए।
काठमाडौँस्थित वीर अस्पतालसँग सहकार्य गर्न हस्ताक्षरसमेत भइसकेको यो अस्पतालले आउने वर्षमा एमबिबीएसको पढाइ शुरु गर्ने र यस वर्ष एमडी कक्षा चाँंडै सञ्चालन गर्ने सामाजिक विकासमन्त्री घिमिरे जानकारी दिए।
दैनिक नेपाल–भारतका गरी करीब एक हजार २०० बिरामी आउने यो अस्पतालमा सरसफाइमा सुधार ल्याएको, बन्द प्रयोगशाला सञ्चालन गरेको, यन्त्र र उपकरण थप्ने काम भइरहेको उनले बताए।
विगतमा घाटामा सञ्चालित यो अस्पतालमा प्रदेश सरकारको निगरानी र चासो बढ्न थालेपछि मासिक रु तीन लाख आम्दानी गर्न थालेकाले यो अस्पतालप्रति प्रदेश सरकारको आशा जागेको सामाजिक विकास मन्त्रालयको अनुमान छ। प्रदेशसभा सदस्य सावित्रा रेग्मीले कोशी अञ्चल अस्पतालमा समयअनुसार आइसियु, भेन्टिलेटर र दरबन्दीअनुसार चिकित्सक तथा विज्ञ चिकित्सकको आवश्यकता देखिएको जानकारी दिए। रासस