काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयमा हालै मात्र गरेको १७ सय भन्दै बढीको सरुवाको विवाद थप चर्किँदै गएको छ।
कर्मचारी सरुवामा नियम र कानुन भन्दा पनि पहुँच र आर्थिक चलखेल अनुसारको सूचि बढी भएपछि मन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुरेन्द्र यादव र सचिव डा पुष्पा चौधरीबीच नै असहमतिको अवस्था आएको छ।
पछिल्लो समयमा भएको सरुवामा मन्त्री यादवले दवावमा सरुवाको फाइल सदर गराएको भन्दै राज्यमन्त्री र सचिवले समेत असहमति जनाएका छन्।
सरुवा भएका कर्मचारीको चिठी स्वास्थ्य सेवा विभागले सम्बनिधत जिल्लामा पठाइरहेको छ। सोही क्रममा आइतबार मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादवले झण्डै तीन दर्जन चिठी च्यातिदिएका छन्। विभागका उपसचवि महेश पाण्डेको हातबाट पत्र खोसेर यादवले च्यातेको विभागका कर्मचारी बताउँछन्। अध्यक्ष यादवले साढे २ बजेतिर पत्र च्यातेका हुन्।
यो सँगै सरुवाको विषयमा मन्त्री, राज्यमन्त्री, सचिव र विभागका महानिर्देशक डा गुणराज लोहनीबीचमा नै फाटो आउन थालेको कर्मचारीहरु बताउँछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदले एक साता अघि गरेको सरुवामा केही त्रुटी देखिएकाले सच्याउने तयारी भइरहेको तर पत्र च्यातेको विषयमा आफूलाई जानकारी नभएको बताए।