राजविराज– सामान्य ज्वरोले सप्तरीको कञ्चनरुप नगरपालिकामा तीन जना बालबालिकाको मृत्युपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुसन्धान सुरु गरेको छ।
अनुसन्धानका लागि गर्न डा. प्रकाश साहलगायतको टिम खटिएको नगरपालिकाका मेयर बसन्त मिश्रले जानकारी दिए। टोलीमा डा. सन्ध्या भगत, जिल्ला जनस्वाथ्य कार्यालय सप्तरीका निमित्त प्रमुख निरञ्जन यादव छन्।
कञ्चनरूप नपा ७ का १४ वर्षीय दिवस बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएपछि अध्ययन÷अनुसन्धान सुरु गरिएको मेयर मिश्रले बताए।
टोलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञसहितको टोलीसँग समन्वय गरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिन शिविर संचालन गरेको छ। २६ गतेसम्म संचालन हुने शिविरमा वडा नं. ३, ७ र ९ का बिरामीबाट रगतको नमूना संकलन गर्ने कार्य भईरहेको महामारी व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश साहले बताए। हालसम्म ४ सयभन्दा बालबालिकाको स्वास्थ्य चेकजाँच र रगतको नमुना संकलन भईसकेको उनले जानकारी दिए। शिविरका लागि औषधी लगायतको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले मिलाएको छ।
नगर क्षेत्रभित्र ज्वरोका कारण बिरामीको संख्या बढ्दै गएपछि अनुसन्धान र उपचार गर्नका लागि शिविरको आयोजना गरिएको कञ्चरुप नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब डम्बर प्रसाद गुप्ताले बताए।
यसैगरी, नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका डा. सञ्जिव झाको नेतृत्वमा ७ सदस्यीय आकस्मिक उपचार समिति गठन गरेको छ। समितिले केन्द्रमा चौबिसै घन्टा बिरामीको उपचारका लागि आवश्यक व्यवस्थापन गर्ने जानकारी दिइएको छ। समितिमा डा. राजेशकुमार मण्डल, डा. संजयकुमार साह, वीरेन्द्रकुमार साह, हरिनारायण मालाकार, कविता गुप्ता र गणेश मण्डल सदस्य छन्।