राजविराज– स्वाइन फ्लु र हङकङ फ्लु प्रभावित सप्तरीको कञ्चनरुप नगरपालिकालाई विपद क्षेत्र घोषणा गरिएको छ।
कञ्चनरुप नगरकार्यपालिकाको विहिवार साँझ वसेको आपतकालिन वैठकले नगरपालिका क्षेत्रमा स्वाईन फ्लु र हङकङ फ्लुका बिरामी फेला परेको, ४ जना मानिसको शंकास्पद मृत्यु भएको र विरामीको संख्या वढ्दै गएको उल्लेख गर्दै विपद क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
यसैगरी, भदौ ३१, १ र २ गते नगरपालिका क्षेत्रभित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । विद्यालय मार्फत् भारइसको संक्रमण तीव्र रुपमा फैलन सक्ने भएकोले विद्यालय वन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता राजकुमार साहले बताए।
आज हरेक विद्यालयमा भाईरसको संक्रमण तथा त्यसवाट वच्ने उपायको वारेमा जानकारी दिँदै विद्यालयको पठन पाठन बन्द गर्ने सहमति समेत भएको साहको भनाई छ । उनले थपे, ‘स्वास्थ्य सम्वन्धि जानकारी घर घर पुर्याउने सहज माध्यम विद्यालय र विद्यार्थी पनि भएकाले हामीले शिक्षक समेत परिचालन गर्ने निर्णय गरेका छौं।’
कञ्चनरुप नगरपालिकामा सामुदायिक ३० र निजी तथा संस्थागत २४ गरी कुल ५४ वटा विद्यालयमा १२ हजार भन्दा वढि विद्यार्थी अध्ययनरत छन्।
दुई वडामा पुनः शिविर सञ्चालन
स्वाईन फ्लुको भाईरस भेटिएको वडा नं. ७ र स्वाईन फ्लुकै कारण एक जनाको मृत्यु भएको आशंका गरिएको वडा नं. ४ मा आज पुनः स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । वडा नं. ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण भएको छ भने वडा नं. ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको मृत्यु भएको छ। उनको मृत्यु स्वाईन फ्लुकै कारण भएको आशंका गरिएको छ।
यसअघि कञ्चनरूप ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भदौ २४ गतेदेखि तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
शिविरमा १ हजार १ सय २२ जनाको स्वास्थ्य चेक जाँच गरिएको थियो । जसमध्ये कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले बताए। ८ जनाको रिपोर्ट आउन अझै बाँकी छ।
प्रत्येक वडामा औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालित
स्वाईन फ्लु र हङकङ फ्लुको भाईरस वढ्न नदिन र विरामीको स्वास्थ्य उपचार गर्न नगरपालिकाका १२ वटै वडामा स्वास्थ्यकर्मीको टोली परिचालित गरिएको छ । पर्याप्त औषधी सहितको ३ सदस्यिय टोली हरेक वडामा परिचालित भएको स्वास्थ्य शाखा संयोजक डम्वर गुप्ताले बताए।
स्वाइन फ्लु प्रभावितलाई धरान पठाइयो
स्वाईन फ्लुको भाईरस देखिएका कञ्चनरुप ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई उपचारका लागि धरान स्थित विपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनलाई धरामा आईसोलेटेड गरी उपचार गरिने स्वास्थ्य संयोजनक गुप्ताले जानकारी दिएका छन्।