नेपालगन्ज- नेपालगन्जको भेरी अञ्चल अस्पतालले मुटुको एन्जिओप्लास्टी सेवा सुरु गरेको छ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा कृष्ण अधिकारी सहितको स्वाथ्यकर्मीहरुको टोलीले अछाम बयालपाटाकी पारुदेवी बुढाको मुटुको एन्जिओप्लास्टी गरेको हो। ५५ वर्षिया बुढाको मुटुको नसा बन्द भएको थियो। एन्जिओप्लास्टीबाट उनको बन्द भएको नसा खुलाइएको छ।
मुटुका बिरामीलाई सहज रुपमा उपचार सेवा प्रदान गर्न अस्पतालमा केही समयअघि क्याथल्याब जडान गरिएको थियो। क्याथल्याब जडान भएपछिको यो नै पहिलो एन्जिओप्लास्टी हो।
मुटुको नशा साँघुरो भएका तथा हृदयाघात भएका बिरामीहरुको उपचारका लागि एन्जियोप्लाष्टि गर्नु पर्ने अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा अधिकारीले बताए।
अस्पतालले क्याथल्याब जडान जडान गरे पछि एन्जिओग्राफी र अस्थायी पेसमेकर राख्ने सेवा भने यसअघि नै सुरु गरिसकेको छ।
अस्पतालमा करिब ६ करोड ५० लाखको लागतमा क्याथल्याब जडान गरे पछि मुटु रोगको उपचार सेवा विस्तार हुँदै गएको छ।
अस्पतालले हालसम्म २५ जनाको एन्जियोग्राफी परिक्षण तथा २ जना बिरामीमा अस्थायी पेसमेकर राखेर उपचार गरि सकेको छ। अस्पतालले काठमाडौंस्थित गंगालाल अस्पतालसंग सहकार्य गरेर क्याथल्याब जडान गरी गंगालाल अस्पतालले लिने बराबरकै शुल्क लिएर बिरामीहरुको एन्जिओप्लास्टी सेवा सुरु गरेको डा अधिकारीले बताए।
भेरी अञ्चल अस्पतालमा मुटुरोगसंग सम्बन्धित दैनिक २० जना बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिव ७० प्रतिशत उच्च रक्तचापको समस्या देखिएको छ। त्यसैगरी जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको वरिपरी पानी भरिएका, मुटुको बाथ रोग सम्बन्धी समस्या भएका बिरामीहरु पनि उपचारका लागि आएको डा अधिकारीले जानकारी दिए।