राजविराज– विशेषज्ञ डाक्टर अभावका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा फैलिएको स्वाइन फ्लु र हङकङ फ्लुको उपचार सेवा प्रभावित भएको छ । उक्त नगरपालिकामा १ जनामा स्वाइन फ्लु र ४ जनामा हङकङ फ्लुको संक्रमण भेटिएको छ।
ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षणवाट ४ जनाको हालसम्म मृत्यु भइसकेको छ । २ हजार १ सय जनामा ज्वरो, रुघाखोकी लगायतको समस्या रहेपछि नगरपालिकालाई नै ‘विपद क्षेत्र’ घोषणा गरिएको छ।
नगरपालिकाको आकस्मिक वैठकले यस्तो घोषणा गरेर तीनदिनसम्म विद्यालय समेत वन्द गरेपनि विरामीहरुलाई उपचारका लागि आवश्यक विज्ञेषज्ञ डाक्टर नहुँदा समस्या परेको स्वास्थ्य शाखा प्रमुख डम्वर गुप्ताले वताए । उनले भने, ‘विशेषज्ञ डाक्टरको अभावले उपचारमा आवश्यक औषधि चलाउन अन्यौल भएको छ ।’ विशेषज्ञ डाक्टरको निगरानीमा मात्र यस्तो औषधि चलाउनु पर्ने भएकोले उपचारमा कठिनाई भएको उनको भनाई छ।
वडा ४, ६, ७ र ११ मा नमुना रगत र खकार संकलनका लागि शिविर सञ्चालन गरी हालसम्म ४० जनाको नमुना जनस्वास्थ्य प्रयोगशालामा पठाईएको जानकारी दिदै गुप्ताले हाल कञ्चनपुर स्वास्थ्य केन्द्रका डाक्टर सञ्जिव झा, राजेश कुमार यादव तथा कडरवोना स्वास्थ्य केन्द्रका जितेन्द्रकुमार यादव र मनोजकुमार चौधरीसहित ८० जना स्वास्थ्यकर्मीले सेवा दिईरहेको वताए।
जिल्ला दैवि प्रकोप उद्धाार समितिले चार दिनअघि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालका डाक्टर रञ्जित झाको नेतृत्वमा दुई सदस्यीय टोली पनि प्रभावित क्षेत्रमा खटाएको थियो । तर, उक्त टोली प्राथमिक स्वास्य केन्द्र कञ्चनपुरमा पुगेर १० मिनेटपछि नै फिर्ता भएको थियो । ‘हामीसँग त वहाँहरुको भेट पनि भएन, के–के गरेर जानु भो भन्ने नै थाहा छैन,’ गुप्ताले भने।
जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक तथा सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले कञ्चनरुपमा फ्लुको समस्या घट्दो दरमा रहेको र भयावह अवस्था नरहेकाले डा. झाको टोली फिर्ता भएको वताए । ‘अहिले गम्भिर समस्या भएका विरामी कञ्चनपुरमा छैनन् र विरामीहरुको संख्या पनि घट्ने क्रममा छ’ उनले भने, ‘आवश्यक्ता परे हामी फेरि डाक्टरको टोली पठाउँछौ ।’