बैतडी– सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी अन्योलमा परेका छन्।
गत भदौ १७ गते कर्मचारी जिल्लाबाट सरुवा भएपनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध गराएको छैन । कार्यालयले सरुवापत्र दिन नमान्दा २२ स्वास्थ्यकर्मी अलमलमा परेका छन्। स्वास्थ्य सेवा विभागले सरुवा गरेपनि स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमानेको कर्मचारी बताउँछन्।
“सरुवा भएपनि अन्योलमा छौँ,” दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेम चन्दले भने । गाउँपालिकाले समेत सहमति दिए पनि उनलार्इ जिल्लाले रोकेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जगदीशचन्द्र विष्ट विभागबाट सरुवा गरिएकोबारे आधिकारिक पत्र प्राप्त नभएको बताउँछन्। उनले भने, “प्रदेश नं ७ सरकारले सरुवापत्र नदिनु भन्ने निर्देशन दिएको छ ।”
प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रमुख, स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बैतडीमा मात्र नभइ प्रदेशभरिका सबै जिल्लाका सरुवा भएका स्वास्थ्यकर्मीलाई सरुवापत्र नदिन निर्देशन दिएको बताए। तीन हजार १७७ स्वास्थ्यकर्मीको दरबन्दी भएको प्रदेश नं ७ मा झण्डै २०० पद रिक्त रहेको छ । उनले भने, “यही प्रदेशबाट १५० स्वास्थ्यकर्मीको सरुवा गर्दा स्वास्थ्य संस्था बन्द हुन्छन्।”
डा अवस्थीका अनुसार सङ्घीय सरकारले प्रदेश नं ७ बाट सरुवा मात्रै गरेको र अन्यत्रबाट यहाँ स्वास्थ्यकर्मी नपठाएको बताए। सङ्घीय सरकारले अन्य प्रदेशबाट प्रदेश नं ७ मा स्वास्थ्यकर्मी नपठाउँदासम्म सरुवापत्र नदिइने उनले बताए। रासस