कुकुर मानवको पुरानो मित्र हो। पछिल्लो समय त झन् अनन्य नै भएको छ। यो घरपालुवा जनावरसँगको सामिप्यता मानवका लागि लाभदायक नै छ। तर, कुन हदसम्मको दूरी वा सामिप्यता ठीक हुन्छ? कुन तहसम्मको आत्मियता जरुरी छ?
बेला–बेला आउने केही घटनाले सन्देह पैदा गरिरहेका हुन्छन्। कुकुरसँगको अतिनिकट सम्बन्धले हातखुट्टा गुमाउन पुगेका एक पुरुषको कथाले सोच्न बाध्य बनाउँछ।
गत जुनमा जब ४८ वर्षीय ग्रेग म्यानट्युफेल अस्पताल पुग्दा उनको अनुहार पूरै रातो र निलो भइसकेको थियो।
उनी भन्छन्, ‘त्यो संक्रमण सर्दै सर्दै मेरो शरीरको पूरै भाग सम्म पुगिसकेको थियो। मेरो हात–पाखुरा, छाती सवैतिर अस्वाभाविक रुपमा परिवर्तन भइरहेको थियो।’
म्यान्ट्युफेललाई यो संक्रमणले आक्रमण गरेको सुरुवाती समयमा लागेको थियो, ‘कुनै कडा खालको फ्लु होला।’
सुरुमा केही नराम्रो फ्लु होला भन्ने लागेको थियो तर डाक्टरले उनको रगतमा एक प्रकारको ब्याकटेरिया पाए, जुन कुकुर र बिरालोको र्यालमा पाइन्छ।
त्यो ब्याक्टेरियाले कमै मात्र मानिसलाई असर र बिरामी बनाउँछ तर म्यान्ट्युफेलमा भएको संक्रमणले गर्दा डाक्टरले उनको नाकको भाग सहित हात र खुट्टा नै काट्नुपर्यो।
अमेरिकाको मिलवाउकी फ्रोइडटर्ट अस्पतालमा उपचाररत उनी डाक्टरहरुलाई ‘जेसुकै गर्नु तर मेरो ज्यान बचाइदिनु’ भनेर आग्रह गर्दै थिए।
‘क्याप्नोकाइटोफागा क्यानीमोरसस’ नामक ब्याक्टेरिया कुकुरको र्यालमा पाइन्छ जसले अरु कुनै प्रकारको रोगहरु सार्दैन।
तर गलत ठाउँमा, गलत समयमा, गलत बिरामीमा त्यसले भयावह संक्रमण निम्त्याउन सक्छ। तर यो एकदम दुर्लभ हुने युनिभर्सिटी अफ पेन्सिलिभेनिया स्कुल अफ भेटेरेनेरी मेडिशिनका भेटनेरी माक्रोबायोलोजीका प्राध्यापक डा. स्टेफन कोले बताउँछन्।
कोले म्यानट्युफेलको स्याहारमा संलग्न थिएनन्।
युएस सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जब ब्याक्टेरियाले मानिसमा संकम्रण गर्न थाल्छ। त्यो संक्रमण टोकेको ठाउँमा, कोतारिएको ठाउँमा र कुकुर र बिरालोसँगको निकटताले यो संकम्रण फैलिन्छ।
एकदम दुर्लभ केस भएपनि म्यानट्युफेलको केशमा त्यसले सेप्सिसको खतरा बढाउँछ। त्यसले अरु जोखिम निम्त्याउँछ। जस्तैः यसले रक्त नलीमा अवरोध पुर्याइ नियमित रक्तसञ्चारमा बाधा पुर्याउन सक्छ।
म्यानट्युफेलको उपचारमा संलग्न डा. सिल्भिया मुनोज प्राइस भन्छिन्, ‘एन्टिबायोटिक्सको सहयोगले संक्रमण हुनबाट छिट्टै रोक्यौँ।’
उनी भन्छिन्, ‘तर उनको शरीरमा रक्त सञ्चारको अवस्था कमजोर भइसकेको थियो। हात र खुट्टामा रगतको प्रवाह एकदम कम भइसकेको थियो। रगतको प्रवाह यति मन्द गतिमा भइसकेको थियो कि उनलाई ग्यान्गरिन भइसकेको थियो। ग्यान्गरीनमा कोषिकाहरु मर्न गइ छाला निलो हुने हुन्छ। साधरण रुपमा भन्नुपर्दा मासु कुहिने हो।'
डाक्टरले उनको हात र खुट्टा बचाउन सकिँदैन भनेर थाहा पाइसकेका थिए। उनीहरुले भेउ पाउन सकिरहेका थिएनन् कि ४८ वर्षिय त्यति स्वास्थ्य मानिस कसरी संक्रमणको शिकार हुन पुगे।
सिडिसीका अनुसार यो संक्रमणको जोखिम क्यान्सर बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस र फियो हटाइएका मानिसमा बढी हुने गरेको छ।
म्यान्ट्युफेल भन्छन्, ‘अहिलेसम्म खासमा म संसारकै स्वस्थ मानिस थिए। डाक्टरले भन्दै थिए – मैले पाँचपटक लट्री फाल्न सक्ने थिएँ यदि आज संक्रमणको शिकार हुँदैन थिएँ भने।’
मुनोज भन्छिन्, ‘हामी खासै निश्चिन्त छैनौँ कि उनको संकम्रण कसरी रक्तसञ्चारसम्म पुग्यो। तर हामीले के अनुमान गरिरहेका छौं भने त्यो सक्रमण पक्कै पनि कुकुरले चाटेर भएको हुनुपर्छ। किनकि म्यान्ट्युफेलमा कुनै पनि घाउ चोट–पटक लागेको थिएन र उनी कुकुरसँगको सम्पर्कमा थिए।'
उनीसँग आठ वर्षीय पिट बुल नामक कुकुर छ।
आखिर यस ब्याकटेरियाले के गर्छ? के तपाईं चिन्तित हुनुपर्छ?
‘मसँग कुकुर छ, धेरैको कुुकुर हुन्छ र हामी धेरैलाई आफ्नो पाल्तु जनवारसँग कहिल्यै पनि संक्रमण भइराखेको हुँदैन,’ मुनोज भन्छिन्।
कोले सहमति जनाउँदै भन्छन्, ‘हरेक पटक जब तपाईंको कुकुरले तपाईंलाई चाट्छ। तपार्इं यो ब्याक्टेरियाको सम्पर्कमा आउन सक्नुहुन्छ तर एकदम कम मात्र तपाईंलाई त्यो समस्या हुन सक्छ।’
सिडिसीका अनुसार यो ब्याकटेरिया ७४ प्रतिशतको मात्रामा कुकुरमा पाइएको छ। सिडिसीको रिपोर्टमा यो ब्याक्टेरियाको बारेमा चर्चा भएको छैन। किनकी यो एकदम दुर्लभ संक्रमण हो।
२००५ को रिपोर्टले १९६१ सम्म ५ सय नयाँ ल्याबोरेटरी टेस्ट अन्तर्गत केसहरु पाएको थियो। तर यसलाई आधिकारिक रुपमा वैज्ञानिक नाम १९८९ मा मात्र दिइयो।
मुनोज प्राइस भन्छिन् ‘म्यान्ट्युफेलमा देखिएको यो ब्याकटेरियाको संक्रमण पहिलादेखि नै मानिसमा थियो । कुकुर र बिरालोमा होइन।’
कोले भन्छन्, ‘हामीलाई थाहा छ पाल्तु जनावरहरुले हाम्रो स्वास्थ्यमा राम्रो गर्छ। हामीले उनीहरुलाई राम्ररी सुरक्षित तरिकाले स्याहार्न सक्यौँ भने उनीहरुले हाम्रो दुःख सुख भुलाउन अनि खुसी राख्न मद्दत गर्छन्।’
उनले घरपालुवा जनावरलाई राम्रो सरसफाइ अपनाउनुपर्छ भन्दै जनावरहरुलाई आफ्नो काटिएको ठाउँमा र दुखाइ भएको ठाउँमा चाट्न दिन नहुने सुझाव दिन्छन्।
उनी भन्छन्, ‘जनावर छोएपछि हात राम्ररी धुनुपर्छ र काटिएको ठाउँको राम्रो उपचार गर्नुपर्छ। तर यही कारणले कसैले म जनावर पाल्दिन भन्छ भने म उसलाई घृणा गर्छु।’
म कुकुुरलाई जहिल्यै माया गर्नेछु
म्यान्ट्युफेलको जीवन अझै लामो छ। दर्जन सर्जरीपछि उनी अब प्रोस्थेटिक अर्थात् नक्कली खुट्टा हाल्ने तयारीमा छन् र उनको नाकको कुर्कुरे हड्डी अब शरीरका अन्य भागबाट निकाली उनको नाक डाक्टरले ठिक पार्नेछन्।
उनी अहिले नयाँ जीवन कसरी सहज रुपमा जिउने भन्नको लागि रिह्याब स्पेसलिस्टसँग परामर्शमा छन्।
म्यान्ट्युफेल आफू बिरामी भएको धेरै सम्झिदैनन्। उनी भन्छन् ‘जब मेरो यो कथा सार्वजनिक भयो अरु देशका मान्छेहरुले पनि यसमा चासो देखाउन थाले।’
‘हामीले यस्तो संक्रमण अरु केहीलाई पनि हुन्छ होला भनेर अचम्मित थियौं किनकी यो ब्याक्टेरिया एकदम दुर्लभ रहेछ र हामीले यसको बारेमा कहिल्यै पनि सुनेका थिएनौँ,’ उनकी पत्नी डनले भनिन्, ‘हामीले विसकन्ससिनमै यस्तो समस्या भएका दुईजना रहेछन् भनेर थाहा पायौँ।’
आफ्नो छोरा र पत्नीको साथमा अहिले म्यान्ट्युफेल आफ्नो जीवन सकरात्मक रुपमा अगाडि बढाउँदैछन्।
‘मैले उनीहरुको लागि दृढ बन्नु छ र उनीहरु पनि मेरो लागि दृढ बन्दैछन्। म यही सोच लिएर अगाडि बढिरहेको छु र हरेकदिन छिटो निको हुने आशा गरिरहेको हुन्छु,’ म्यान्ट्युफेल भन्छन्।
तर यस्तो भइसकेपछि पनि उनलाई आफ्नो कुकुर प्रतिको माया उत्तिकै छ र विश्वास गर्न चाहँदैनन् कि उनको प्यारो पिट बुलले उनलाई यस्तो संकम्रण गराएको हो।
उनी फेरि भन्छन्, ‘यस्तो भयो भन्दैमा म कुकुरलाई चाट्नबाट रोक्न सक्दिन। म जहिल्यै पनि कुकुर मन पराउनेछु।
- (माइकल नेडलम्यानले तयार पारेको यो रिपोर्ट सिएनएनबाट बुनु थारुले अनुवाद गरेकी हुन्।)