काठमाडौं– कान्ति बाल अस्पतालको आकस्मिक कक्षका डाक्टरमाथि हातपात गर्ने व्यक्ति ५ हजार धरौटीमा रिहा भएका छन्।
गत शुक्रबार अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचारमा खटिरहेको समयमा दोलखा स्थायी घर भएका प्रभात पोखरेलले डाक्टर मुकुन्ददेव सोनीमाथि हातपात गरेका थिए।
हाल सिनामंगल बस्दै आएका पोखरेलले डा सोनीमाथि शुक्रबार राती सवा ७ बजेतिर हातपात र दुव्र्यवहार गरेको डा सनी सिपाईले जानकारी दिए। डा सिपाईका अनुसार पोखरेलले डा सोनीमाथि हातपात सहित गालीगलौज समेत गरेका थिए।
डाक्टरहरुको उजुरीका आधारमा पोखरेलले प्रहरीले पक्राउ गरेको थियो।
उनलाई आज जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा गरेको हो। भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध ९संहिता० ऐन २०७४ को धारा २५८ अनुसार उनलाई अस्पतालमा तोडफोड र डाक्टरमाथि हातपात गरेको अभियोगमा आपराधिक उपद्रवका आधारमा कारवाही गरिएको हो।
अस्पतालका चिकित्सकका अनुसार यस्तो छ घटना
शुक्रबार सवा ७ बजेतिर एक जना बिरामी आफ्नो बच्चा लिएर उपचारका लागि आएका थिए। आकस्मिक कक्षमा काम गरिरहेका डा मुकुन्द देवलाई बिरामीका आफन्तले आउने बित्तिकै आफ्नो बच्चा हेरिदिनुपर्यो भनेर कर गरिरहेका थिए।
आकस्मिक कक्षमा अरु बिरामी पनि लाइनमा रहेका कारण ती बिरामीलाई एकछिन् कुर्न भनिएको थियो। तर उनी मानेन्। हल्ला गर्न थाले। हातमा भएको टिकट फाल्दै यहाँ जचाँउदैनौ भनेर झर्किए।
बिरामीको आफन्तले नै उपचार गर्दिन भनेर टिकट नै फालेपछि डिउटीमा रहेका डाक्टरहरुले ‘तपाईको इच्छा हो, जहाँ मन पर्छ त्यहीँ उपचार गर्नुहोस न’ भनेर जबाफ दिएका थिए। त्यसपछि त आफन्तले रिसाउँदै हातपात गर्न थालिहाले। उनलाई छुटाउन गएका अर्का डाक्टरलाई पनि गालीगलौज गर्न थाले।
बच्चालाई भाइरल फिभर भएको थियो। बच्चालाई इमरजेन्सीमै राख्नुपर्ने अवस्था पनि थिएन। अरु अस्पतालमा पनि बच्चालाई देखाइसकेका रहेछन्। एकचोटी कान्तिमा पनि देखाउनु भनेर आएका रहेछन्। तर डाक्टरमाथि नै हातपात गरे।