काठमाडौं— राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक र कर्मचारी बीचको विवाद टुंगिएको छ।
निर्देशक डा हरिशचन्द्र उपे्रति र नेपाल निजामति कर्मचारी संगठनका महासचिव रेवन्त ओलीको नेतृत्वले मिलापत्र गरेपछि विवाद टुगिङएको हो ।
कर्मचारीको नियमित वृत्तिविकासको फाइल रोकेको भन्दै आन्दोलनमा उत्रिएका थिए कर्मचारीले आफूमाथि हातपात गरेको आरोप निर्देशक डा उप्रेतिले लगाएपछि विवाद बाहिरिएको थियो । विवादका क्रममा कर्मचारीले पैसा असुलीका फाइल अड्काएको आरोप डा उप्रेतिमाथि लगाएका थिए।
तर, निर्देशक डा उप्रेतिले कर्मचारीकै कारण फाइल अघि बढ्न ढिला भएको बताउँदै उक्त आरोपको खण्डन गरेका छन् । उनले भने, ‘पैसा असुलिका लागि काम रोकेको भन्ने गलत आरोप लगाइएको छ । यो आरोपमा मेरो आत्पति छ।’
करारका कर्मचारीको समावधि असार महिना सकिएपछि पुनम्याद थप गर्न आदेश नआएकोले ढिलाई भएको उनले स्पष्ट पारे । ‘भदौको अन्तिम सातामात्र सरकारले म्याद थप्ने निर्णय गर्दै परिपत्र गरेपछि मैले तुरुन्त म्याद थपेको थिए,’ उनले भने।
प्रयोगशालाका नासु माधव घिमिरेले निर्देशकले लामो समयदेखि कार्यसम्पादन फाइल रोकेर कर्मचारीको वृत्तिविकासमा बाधा पुर्याउन खोजेका कारण आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । तर, उक्त विवाद मिलिसकेको घिमिरेले जानकारी दिए । घिमिरेको नेतृत्वमा कर्मचारीले निर्देशक डा उप्रेतिमाथि हातपात गरेको आरोप लागेको थियो।