काठमाडाैं- राष्ट्रकवि माधवप्रसाद घिमिरे जीवनको सयौँ बसन्तमा छन्। अर्थात् उनको शताब्दीऔँ जन्मदिन आज हो। सय पटकसम्म जन्मदिन मनाउन पाउने विरलै सौभाग्यशाली व्यक्तिमा पर्छन् घिमिरे।
उनलाई भेट्ने जो कसैले पनि ‘वहाँ सय वर्षको हुनुभयो’ भन्ने कल्पना गर्न गाह्रो छ। आफूसँगैका धेरै प्रतिभाशाली साथीलाई निकै अघि नै संसारबाट बिदा भएको देखेका उनी देशका धेरै राजनीतिक घटनाक्रम र परिवर्तनका साक्षी पनि हुन्।
सय वर्ष पुगिसक्दा पनि काव्यका रसास्वादन गर्न पुगेको छैन उनलाई। एउटै चाहना छ ‘कविता सिर्जना गरिरहुँ’ भन्ने मात्र, स्वास्थ्यखबरकर्मीको सँगको भेटमा उनले भने। लामो जीवन यात्रा तय गर्दागर्दै कठिनता र संर्घषका सयौं दिन पार भए। तर कहिल्यै नरोकिएको कार्य थियो ‘र्सिजना’मात्रै थियो। कविता लेखनबाट कहिल्यै थाकेनन् उनी, कहिल्यै अघाएनन्। अझै उतिकै खरो उत्रिरहेकै छ उनको लेखनी।
बाहिरी परिस्थिति जे-जस्तो भएपनि उनको स्वास्थ्यले भने उनलाई साथ दिइरहेको थियो। पछिल्लो समय भने स्वास्थ्यमा समस्या आउँदा करीब ६ महिनाजति अस्पताल र घर धाइरहनु परेको छ उनलाई। पहिलेभन्दा अहिले केही स्वस्थ भएपछि नियमित दैनिकी फेरिएको छ घिमिरेको।
‘काम थोरै, आराम धेरै गर्नुपर्ने अवस्था छ’ उनी भन्छन्, ‘आफूले थालेको काम आफैं सन्तुष्ट नभई अरुका सामु सार्वजनिक उचित होइन।’ अस्वस्थ्य हुदाँ पनि हिम्मत नहारेको बताउँछन् घिमिरे।
मिजासिलो स्वभाव, कुराकानी, उत्साह र तत्परता देख्दा कसैले भन्दैन, उनीले सय शरद फटाइसके भनेर। उस्तै हसिँलो स्वभाव, गफ गर्ने उत्साह र सक्रियता कत्ति पनि कम नभएको देख्दा उनले आफ्नो शरीरलाई कति माया गरेर स्वस्थ राखेका छन् भन्ने प्रष्ट हुन्छ।
स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएपछि उनी अहिले भर्याङ उक्लन–ओर्लिन सक्ने भएका छन्। मानिसहरू युवावस्थामै दाँतविहीन भएको देखिन्छ तर उनका सिर्जनाजस्तै दाँत पनि युवावस्थामा छन्। हाँस्दा टम्म मिलेका दाँतले सय बसन्तसम्म पनि अटुट साथ दिइरहेका छन्, महाकाली जसै गरी।
मिजासिलो स्वभाव छ उनको। ‘एउटा चाँहि डाक्टरको दाँत हो, बाँकी त सबै मेरै हुन्’ मजाकमिश्रित लवजमा उनले भने। स्वास्थ्यप्रति सँधै सजक रहने भएकाले वहाँ धेरै बिरामीसमेत नभएको बताउँछिन् उनकी श्रीमती महाकाली घिमिरे।
अहिले पनि घिमिरेलाई खसीको भुटेको मासु मन पर्दो रहेछ। स्वास्थ्यको कारण आजकल खानामा ध्यान दिनुपर्ने अवस्था आएको पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मीले बताइन्। किरण रेग्मी राष्ट्रकवि घिमिरेकी छोरी हुन्।
केही समयअघि अलि लामै समय राष्ट्रकवि घिमिरे बिरामी परे। तर यसअघि उनी कहिल्यै यति लामो बिरामी नभएको श्रीमतीको भनाई छ। बिरामी नहुदाँसम्म दैनिक योगाभ्यास गर्ने, स्वस्थ खाना, सकारात्मक सोच र दैनिक रचना÷सिर्जना साधनाले वहाँलाई स्वस्थ राखेको उनको भनाई छ।
‘अहिले वहाँ हल्का खानेकुरा मात्र खानुहुन्छ, बोलिरहन मन पराउनु हुन्छ। तर पहिले जस्तो अहिले छैन, अलि गाह्रो हुन्छ। लामो समयसम्म अवस्थताका कारण कम बोल्न परिवारले आग्रह गरिरहुनपर्छ,’ छोरी किरणले भनिन्।
वैवाहि जीवनका ७१औँ बसन्तकी सहयात्री महाकाली घिमिरे ८४औँ बसन्तमा पुग्दैगर्दा पनि राष्ट्रकविकै सेवामा तल्लीन छिन्।
लामो समय बिरामी अस्पताल–घर गरिरहँदाको अनुभव सुनाउदै राष्ट्रकवि भन्छन् ‘घरबाट ननिस्किँदासम्म मनमा डर भएपनि अस्पताल पुगेर चिकित्सकको जिम्मा लाएपछि भने ढुक्क भयो। मनमा एउटै कुरा थियो, छिटो निको भएर थालेको ‘ऋतम्भरा’ पूरा गर्नुहुनेछ’ महाकालीले भनिन्।
नेपालदेखि भारतीय अस्पतालमा उपचारका लागि जाँदा पनि मनमा सिर्जना फुरेमा साथमा रहेका सहयोगी, छोराछोरीलाई टिप्न लगाएको घिमिरेले सुनाए।
रिसले सिर्जनाशक्ति हराउने भन्दै घिमिरेले अस्पतालमा रहँदा फैलिएको आफ्नो मृत्युको खबरले रिसभन्दा पनि आत्मबल बढाएको अनुभव सुनाए।
जिवितै रहँदा मृत्युको अनुभव कस्तो हुने रहेछ भन्ने जान्न पाएको भन्दै आफूलाई देश र जनताले गर्ने मायाको पूर्ण आभास भएको उनी बताउँछन्।