महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रका महत्वपूर्ण अंग हुन् । नेपालको स्वास्थ्य क्षेत्र यहाँसम्म आइपुग्नुमा स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण छ । ताप्लेजुङ, श्रीजंगा गाउँपालिकाकी सिर्जना राई ७ वर्षदेखि स्वास्थ्य स्वयंसेविकाका रुपमा अहोरात्र खटिइरहेकी छिन्।
२०६८ सालमा आमा समूहले छनोट गरेर उनलाई स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी दिएको हो । गाउँका महिलाले गरेको भरोसालाई उनले मनैदेखि पूरा गरिरहेकी छन् । ३१ वर्षीया सिर्जना आफ्नो गाउँपालिकाको ‘नुमाफुङ आमा समूह’की सचिव समेत हुन्।
प्लस टूसम्मको अध्ययन गरेकी सिर्जनाका अनुसार गाउँमा शिक्षित निकै कम छन् । उनीहरुलाई स्वास्थ्य मात्रै होइन, अन्य आवश्यक कामका लागि सहयोग जरुरी हुन्छ । त्यसका लागि उनी हरेकपल्ट सहयोगीका रुपमा प्रस्तुत हुन्छिन्।
शिक्षाको कमीको कारण गाउँका महिलालाई कुरा बुझाउन कहिलेकाहीँ मुस्किल पर्छ उनलाई । ‘आफ्ना कुराले प्रभावित पार्न निकै गाह्रो काम जस्तो पनि लाग्छ,’ उनले भनिन्, ‘तर प्रयास गर्दा सफल भइरहेकी छु।’
आफूले कुरा बुझाउन सकेकै कारण सबैको प्रिय भएको उनी बताउँछिन् । सिर्जनाले स्वास्थ्यबारे चेतना मात्रै छरिरहेकी छैनन्, शिक्षा पनि फैलाइरहेकी छिन् गाउँमा । ‘मैले आमा समूहमा रहेका लेखपढ गर्न नजान्ने महिलालाई पढ्न त होइन, नाम लेख्नसम्म सिकाउन सफल भएकी छु । पहिला ल्याप्चे लगाउँथे अहिले हस्ताक्षर गर्न सक्ने भएका छन्,’ उनले भनिन् ।
गाउँका महिलालाई गर्जो टार्न उनकै पहलमा स्वयंसेविका कोष पनि गठन भएको थियो । त्यसको उनी आफैंले ६ वर्ष जति नेतृत्व गरिन् । ‘अहिले म त्यसमा छैन, अरुलाई पनि सिक्ने अवसर होस् भनेर हस्तान्तरण गरेकी छु,’ उनी भन्छिन्, ‘चेक काट्न, माइन्युट लेख्न, खाता खोल्नलगायत धेरै कुरा सिकाएँ।’
गाउँमा अझ पनि गर्भवती हुँदा चेकअप गराउने कुरामा कतिले हेलचेक्र्याइँ गर्छन् । कतिले थाहै पाउँदैनन् । कतिमा चेकअप नगराए पनि बच्चा जन्मेकै छन् भन्ने परम्परागत धारणा कायम छ ।
सिर्जना नियमित चेकजाँच गराउनु र स्वास्थ्य संस्थामै सुत्केरी हुनुका फाइदाबारे बुझाउँछिन् । बुझाएर मात्रै नपुगेको अवस्थामा आफैं चेकजाँचका लागि स्वास्थ्य संस्था लैजाने गर्छिन् । उनी भन्छिन्, ‘उहाँहरुले नबुझेर त्यसो भन्नुभएको हो । बुझाउनु मेरो कर्तव्य हो जस्तो लाग्छ।’
उनको यही सक्रियताले धेरै आमा र बच्चा सुरक्षित जन्मेका छन् । उनको गाउँमा स्वास्थ्य संस्था बाहिर हुने सुत्केरीको संख्या घट्दै गएको छ।
उनी अहिले आफ्नो श्रीजंगा गाउँपालिकाका बासिन्दाहरुमा स्वास्थ्यको चेतना राम्रो हुँदै गएको बताउँछिन् । आमा समूहमा स्वास्थ्यसम्बन्धी छलफल समेत नियमित चलाउने गरेकाले चेतनास्तर उकासिरहेको उनको बुझाइ छ । ‘हामीले समय–समयमा हुने छलफलमा स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा कुराकानी गरिरहेका हुन्छौं । नबुझेकाहरुले त्यसमा चासो लिनुहुन्छ । हामीलाई यसबारे बताउन अझ सहज हुन्छ,’ उनले अनुभव सुनाइन्।
सिर्जना जस्तै स्वयंसेविकाका कारण उनको गाउँपालिका भदौ १ गतेदेखि पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भएको छ । उनको विचारमा पछिल्लो समय सरकारले स्वास्थ्य स्वयंसेविकाको स्तोरन्नतिका लागि तालिमहरु बढाइरहेको छ । विभिन्न सामाग्री उपलब्ध गराइरहेको छ । तर, यतिले मात्रै नपुग्ने उनको धारणा छ।
अघिल्लो पुस्ताका स्वयंसेविकाहरुमा शिक्षाको कमी छ । जसले गर्दा सरकारले दिने तालिम नुबुझ्नुका साथै स्वास्थ्य सामग्रीको उपयोग गर्न नसकेको उनले देखेकी छिन् । सिर्जना भन्छिन्, ‘धेरै महिला स्वयंसेविका अशिक्षित हुनुुहुन्छ । त्यसैले तालिम लिँदा पनि धेरैले बुझ्दैनन् । अब स्वयंसेविका छनोट गर्दा बुझेको र शिक्षित छनोट गर्नुपर्छ । उनीहरुले आफूले राम्ररी बुझेमा अरुलाई राम्ररी बुझाएर जानकारी दिन सक्छन्।’
आफ्ना कारण धेरैले सुरक्षित रुपमा बच्चा जन्माएको देख्दा उनलाई खुसी लाग्छ । तर, कहिलेकाहीँ गाउँका महिलामा रहेको अज्ञानताले हुने दुर्घटनाले पनि उनलाई पिरोल्छ । सिर्जना केही वर्षअघिको एउटा घटना सम्झिन्छिन्, ‘करिब चार वर्षअघिको कुरा हो । रातको १२ बजेको थियो । बोल्न नसक्ने एकजना महिला गर्भवती हुनुहुन्थ्यो । एक्कासि उहाँलाई व्यथा लाग्यो । महिना पनि पुगेको थिएन । अस्पताल लाने क्रममा बाटोमा ल्याउँदा बच्चा पेटमै मर्यो।’
पछि बुझ्दा गर्भवती भएको बेला उनी लडेकी रहिछन् । आफूलाई केही जानकारी नगराएकाले जोगाउन नसकेको सिर्जनाले बताइन् । त्यसपछि सबैलाई उनले यस्ता कुरा अरुलाई भन्ने सम्झाउने गरेकी छिन् । भन्छिन्, ‘त्यो घटना सम्झिँदा दुःख लाग्छ । त्यसपछि त्यस्तो भोग्नु परेको छैन।’
उनी सामाजिक सेवा र घरपरिवारलाई मिलाएर अघि बढिरहेकी छिन् । परिवारबाट उनको काममा कुनै अवरोध छैन । ‘घरपरिवारको पनि राम्रो सहयोग पाएको छु । अरुलाई सेवा दिने काम राम्रो हो भन्दै हौसला दिनुहुन्छ,’ उनले भनिन्।
स्वास्थ्य स्वयंसेविका हुनुका आफ्नै खुसी र दुःख छन् । तर, उनी दुःखलाई मनमा नलिएर खुसी–खुसी सेवामा खटिरहेकी छिन् । भन्छिन्, ‘सेवा गर्न पाउनु त खुसीको कुरा हो।’