सफा र सुन्दर बगैंचा। बगैंचामा लटरम्म आँप, लिची र मनमोहक फूलहरु। ७५ विघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको बगैंचाका बीचमा चिटिक्क परेका भवनहरु।
झट्ट हेर्दा आकर्षक पार्कजस्तो देखिने यो ठाउँ भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हो। चिटिक्क परेको यो अस्पतालले नेपालका बाँकी अस्पतालको चित्र नै बिर्साइदिन्छ। र, अस्पतालप्रतिको परिभाषा पनि फराकिलो बनाइदिन्छ।
सरकारी स्तरबाट सञ्चालित यो अस्पताल नेपालको एकमात्र ठूलो क्यान्सर अस्पताल हो भने क्यान्सरका बिरामीको भरोसाको केन्द्र। रोगको निदान र उपचारका लागि अस्पतालमा अत्याधुनिक सेवा उपलब्ध छ। २०५७ साल असोज १० गते एक सय शय्याबाट औपचारिक रुपमा सेवा सुरु गरेको यो अस्पताल अहिले ४ सय ५० शय्यामा विस्तार भएको छ। अस्पतालले चितवन र आसपासका जिल्लाका मात्र नभई ७७ वटै जिल्लाका बिरामीलाई उपचार सेवा दिइरहेको छ। अस्पतालमा वार्षिक ४० हजार बिरामीलाई सेवा दिने गरेको तथ्यांकले देखाएको छ।
१९ वर्षे यो सरकारी अस्पतालले बीचमा लामो समय अन्य सरकारी संस्थाको जस्तै नियति खेप्यो। अस्तव्यस्त भयो। तर, पछिल्लो समय अस्पतालमा सुधारका संकेतहरु देखिन थालेका छन्। क्यान्सरको उपचारमा आफूलाई अब्बल अस्पतालका रुपमा चिनाउन यसले सेवा सुविधासँगै व्यवस्थापनमा पनि सुधार गरेको छ।
कुनै समय अस्पतालको सेवा खस्किएर ओपिडीमा मुस्किलले दुई सय बिरामी मात्र आउने अवस्थामा पुगेको अस्पतालमा अहिले दैनिक ६ सय देखि ७ सय बिरामी आउन थालेका छन्। दैनिक ३ देखि ४ लाख राजस्व उठाउने अस्पतालले अहिले दैनिक ८ देखि ९ लाख राजस्व उठाउन सक्ने अवस्थामा पुगेको छ।
अस्पतालले पछिल्लो समय संख्यासँगै सेवाको गुणस्तरमा पनि ध्यान दिन थालेको छ। बिरामीको सहजताका लागि टोकन प्रणालीदेखि बस्ने र आराम गर्ने व्यवस्थित स्थान पनि बनाइएको छ। क्यान्सर उपचारको क्षेत्रमा पनि अस्पतालले विभिन्न विधामा अति विशेषज्ञ सेवा (सुपर स्पेसलिस्ट सर्भिस) दिन सुरु गरिसकेको छ।
अस्पतालले अत्याधुनिक उपकरण र उपचार प्रणाली भित्र्याएर आफूलाई अब्बल रुपमा प्रस्तुत गरेको छ। यति मात्र होइन, अझै सहज र प्रभावकारी सेवाका लागि भौतिक पूर्वाधार विकासमा पनि आफूहरु लागिपरेको अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य बताउँछन्।
‘विगतमा रोकिएका सेवालाई पुनः सञ्चालनमा ल्याउनेदेखि नयाँ–नयाँ सेवा पनि दिन प्रयास गरिरहेका छौं,’ निर्देशक आचार्यले भने, ‘अस्पताल भित्र छिरेपछि बिरामीले सहज रुपमा गुणस्तरीय सेवा पाउनुपर्छ भनेर नै हामीले बिरामीलाई केन्द्रमा राखेर सेवा विस्तार गरेका हौं।’
अस्पतालको विगतको अस्तव्यस्तता नियाल्ने हो भने अहिलेको सुधार आइरहेको प्रष्टै अनुभूति सेवाग्राहीले गर्न सक्छन्। क्यान्सरका बिरामीको आशाको केन्द्र अस्पताल आफैं क्यान्सरको बिरामी जस्तो थियो। तर, एक वर्षयताको सामूहिक प्रयासले अस्पताल काँचुली फेर्ने दिशामा अघि बढेको कार्यकारी निर्देशक डा. आचार्य बताउँछन्।
‘धेरै कर्मचारी अस्पतालको नकारात्मक टिप्पणीले आजित थिए। सुधार गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत थियो। फलस्वरुप हामीले मिलेर नै सुधारको अभियान चलायौं,’ आचार्यले छोटो समयमा धेरै सुधार गर्नसक्नुको कारण बताए।
उनका अनुसार अस्पतालमा गत वर्षसम्म रेडियोलोजी विभागमा एक्सरे समेत हुनसक्ने अवस्था थिएन। एमआरआई, मेमोग्राम, सिटी स्क्यानदेखि रेडियोथेरापीका सुविधा समेत अवरुद्ध थिए। तर, अहिले अस्पतालमा यी सबै सेवा सुचारु छ। सिटी स्क्यान र एमआरआइका लागि बिरामीले पालो कुनु नपर्ने अवस्था आएको छ। रेडियोथेरापीमा अस्पतालमा नयाँ उपकरण थपिएको छ।
रेडियोथेरापीमा पुरानो कोबाल्ट मेसिन मात्र भएको अस्पतालमा अहिले दुईवटा अत्याधुनिक लिन्याक मेसिन, सिटी स्क्यान विथ सिमुलेटर र अत्याधुनिक ब्राकिथेरापी मेसिन सञ्चालनमा छ। शरीरका भित्री अंगमा आधुनिक प्रविधिको प्रयोग गरेर सेकाउन मिल्ने यस्ता उपकरणका कारण बिरामीको उपचारमा सहजता भइरहेको निर्देशक आचार्यले जानकारी दिए।
प्रयोगशालामा पनि विगतमा परीक्षणहरु नहुने अवस्थामा पुगेको थियो। परीक्षणका लागि आवश्यक केमिकल तथा किटहरु नहुँदा सेवा प्रभावित थियो। बिरामीले बाहिर जानुपर्ने बाध्यता थियो। तर, अहिले अस्पतालमा सबै परीक्षण हुन्छ। ‘केमिकल नभएर परीक्षण रोकिएको भन्ने गुनासो अब अन्त्य भएको छ,’ निर्देशक आचार्यले भने, ‘खरिद प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाउँदा समस्या तुरुन्तै सल्टियो।’
अस्पतालले ९ वर्षदेखि बिग्रियो भनेर थन्काएको उपकरण पनि हालै मात्र पुनः सञ्चालनमा ल्याएको छ। फ्रोजन बायोप्सी सेवा उपकरण बिग्रिएर ९ वर्षदेखि हुन सकेको थिएन। यो सेवाले क्यान्सरको शंका गरिएको अंगको केही तन्तु निकालेर उक्त अंगमा कति भागमा क्यान्सर भएको छ, क्यान्सर नै हो कि होइन वा क्यान्सर हो भने शल्यक्रिया सानो गर्ने वा ठूलो गर्ने भन्ने निक्र्योल गर्छ। अस्पतालले सामान्य मर्मत गरेर सेवा सुचारु गरेको हो।
अस्पतालका हरेक विभागलाई बलियो र अब्बल बनाउँदै लगेको अस्पतालले कागज, इन्धन लगायतका क्षेत्रमा हुने खर्चमा पनि सुधार गरेको छ। विगतमा यी शिर्षकमा मासिक ७ लाखसम्म खर्च हुने गरेकोमा अहिले अस्पतालमा यो शिर्षकमा मासिक ३ लाख मात्र खर्च हुन्छ।
अस्पतालमा विगतमा अक्सिजन खरिदमा मात्र मासिक ६ लाख खर्च हुने गरेको थियो। अक्सिजन छिटो–छिटो सकिने समस्या थियो। तर, अस्पताल प्रशासनले यसको खोजी–नीति गर्दा अक्सिजन चुहिने समस्या फेला पा¥यो। उक्त समस्यालाई समाधान गरेलगत्तै अस्पतालको मासिक ३ लाख खर्च जोगिएको छ। दैनिक ६ सय भन्दा बढी बिरामी आउने उक्त अस्पतालमा तीन वर्षदेखि एम्बुलेन्स सेवा समेत थिएन। तर, अहिले अस्पतालले एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ।
अस्पतालको सेवा–सुविधा समेत सर्वसुलभ छ। अस्पतालको साधारण शय्याको शुल्क डेढ सय छ भने एसिसहितको शय्याको ६ सय रुपैयाँ रहेको छ। एमआरआई शुल्क ७ हजारदेखि १३ हजारसम्म छ भने शल्यक्रिया बढीमा ७ हजारसम्मको मात्र छ। बिरामीलाई केन्द्रमा राखेर साना–साना कुराबाट सुधार अगाडि बढाउँदा नै अस्पतालमा धेरै सुधारका संकेत देखिएको निर्देशक डा. आचार्यले जानकारी दिए।
क्यान्सर प्रतिष्ठान बनाउने लक्ष्य
अस्पताललाई क्यान्सर रोगका विषयमा विशेषज्ञ अध्यापन प्रतिष्ठान बनाउने लक्ष्य लिइएको छ। नेपालकै ठूलो क्यान्सर अस्पताल भएका कारण यसलाई दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था बनाउनुपर्ने भन्दै अस्पतालले योजना समेत बनाएको छ।
पहिलो चरणमा अस्पतालले यो वर्षदेखि क्यान्सरका विषयमा 4 अध्ययनको सुरुवात गर्ने भएको छ। पोखरा विश्वविद्यालयसँग क्यान्सर विषयमा ब्याचलर 4को पढाइका लागि स्वीकृति लिइसकेको छ भने ३० जनाको कोटा समेत पाइसकेको छ। सरकारले छुट्टै प्रतिष्ठान बनाएमा आफैं पाठ्यक्रम बनाएर अध्यापन सुरु गर्ने, होइन भने प्रतिष्ठान नबनेसम्म अरु विश्वविद्यालयसँग सम्बन्धन लिएर शैक्षिक कार्यक्रम चलाउँदै जाने अस्पतालको योजना छ।
क्यान्सरका विषयमा एमबिबिएसपछिको विशेषज्ञ पढाइका लागि आवश्यक गृहकार्य समेत अस्पतालले सुरु गरिसकेको छ।