नर्स ताराकुमारी बोहोरा पश्चिम तराईको कञ्चनपुरमा जन्मिइन्। कैलालीमा हुर्किइन्।
लोकसेवाबाट स्टाफ नर्समा उत्तीर्ण भएपछि उनले हिमाली जिल्ला डोल्पा रोजिन्। हिमाली जिल्लाको स्वास्थ्य सेवाबारे धेरथोर जानकार तारालाई केही गरेर देखाउन सकिने हुटहुटीले डोल्पा डोर्याएको थियो।
तर, डोल्पा पुग्नेबित्तिकै उनले बिरामीको होइन, आफैं थला परेको जिल्ला अस्पताल डोल्पाको उपचारमा खटिनुपर्यो। उनले दुर्गममा स्वास्थ्यकर्मी जान मान्दैनन् भन्ने सुनेकी थिइन्।
अरु नमाने पनि म जान्छु भन्ने हिम्मतका साथ २०७० साल भदौमा लोकसेवाबाट स्थायी रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेपछि उनी यहाँ पुगेकी थिइन्। स्वास्थ्यकर्मी दुर्गम आउन किन मान्दा रहेनछन् भन्ने प्रश्नको उत्तर पनि उनलाई डोल्पा पुग्नेबित्तिकै मिल्यो।
तराईको फाँटमा हुर्केकी चेली एकैपटक हिमालमा पुगेकी थिइन्। त्यो नै उनका लागि अनौठो थियो। त्यसैमाथि अग्ला पहाड, पातलो बस्ती र भेरी नदीको किनारमा जिल्ला अस्पताल देखेर उनलाई असहज महसुस भयो।
सुरुमा उनलाई बस्नको लागि क्वार्टर थिएन। कोठा भाडामा लिएर केही महिना काम गरिन्। ड्युटीमा पनि स्टाफका लागि कोठा थिएन। सेड्युल नभएकाले प्रायः कर्मचारी ड्युटीमा बस्दैनथे। दिउँसो त केही कर्मचारी हुन्थे, राति भने अस्पताल पूरै सुनसान हुन्थ्यो।
उनी सम्झिन्छन्, ‘नर्सलाई त झन् कुनै कर्मचारीले सहयोग नै गर्दैनथे। जिल्ला भित्रकै धेरै स्टाफ थिए। त्यसैले बाहिरकालाई उनीहरु हेप्थे।’ बिरामीको सेवा गर्ने सपना बोकेर यहाँ पुगेकी ताराको साहससमेत कमजोर हुन थाल्यो। उनी भन्छिन्, ‘किन यहाँ आएँ ? कसरी समय बिताउने होला भन्ने सम्झेरै दिक्क लाग्थ्यो।’
उनले हरेस भने खाइनन्। ठाउँ, समाज र सकारात्मक सोचका केही व्यक्तिसमेत भेटिंदै गएपछि फेरि उनमा साहस भरिंदै गयो। अस्पतालका डाक्टरसँग सहकार्य गरेर उनले अस्पताल व्यवस्थित गर्ने कार्यको सुरुवात गरिन्।
वार्डहरु व्यवस्थित गरिन्। उनी भन्छिन्, ‘वार्ड व्यवस्थित गरेपछि बिरामीहरु वार्डमै बस्न थाले। त्यसअघि त भर्ना गर्नुपर्ने बिरामी पनि ‘मसानघाट हो, यहाँ बस्नुहुँदैन’ भन्थे। यसैगरी जिल्ला अस्पतालमा बच्चा जन्माउनु हुँदैन देउता लाग्छ भन्नेहरु पनि थिए।’
अस्पताल व्यवस्थित गर्दै जाँदा बिरामीको घुइँचो लाग्न थाल्यो। बिरामी भर्ना हुन थाले। कर्मचारी राति ड्युटी बस्नुपर्ने प्रणालीको विकास भयो। पहिलोपल्ट तारा र उनकी साथी बसेका थिए, रात्रिकालीन ड्युटी।
‘हामी दुईजना नर्सले राति ड्युटी बस्न सुरु गर्यौं,’ उनले सुनाइन्, ‘पहिलोपटक हामी राति ड्युटी बस्दा धेरैले खिल्ली उडाए।’ खिल्ली उडाउनेको लस्करमा जिल्ला अस्पतालकै केही कर्मचारी पनि थिए।
रात्रिकालीन ड्युटी बस्ने स्टाफका लागि कोठा थिएन। चिकित्सकहरु क्वार्टरबाटै बिरामी हेर्न आउँथे। उनले भनिन्, ‘डाक्टरलाई बारम्बार अनुरोध गरेर नाइट ड्यूटीमा बस्ने स्टाफको लागि छुट्टै 4 ड्यूटी कोठाको व्यवस्थापन गरियो। त्यसपछि सबै नर्सले निरन्तर आफ्नो ड्यूटी गर्न थाले।’
रातको समयमा बिरामीले सेवा पाउन थालेपछि पहिले कुरा काट्नेहरु पनि खुसी हुन थाले। उनले भनिन्, ‘उनीहरु पहिलो पटक यति धेरै सेवा पायौं भन्दै खुसी हुन थाले।’ उपचार सेवा आरम्भ भए पनि स्वभाविक रुपमा उपचार सामग्रीको खोजी सुरु हुने नै भयो। त्यसको अभाव थियो। औषधि पनि महिनौंसम्म आउँदैनथ्यो।’
उनले सबैभन्दा धेरै नर्सलाई हेर्ने नजरविरुद्ध संघर्ष गर्नुपर्यो। उनी भन्छिन्, ‘नर्सलाई हेर्ने नजर गलत भएका कारण कसैले सहयोग गर्दैनथे। उनीहरु हामीले गरेको कामलाई गलत सावित गर्न लागिपर्थे।’ केटी मान्छे राति बाहिर निस्कनु हुँदैन भन्ने मान्यता भएको समाजमा नर्सहरुका लागि राति ड्युटी गर्नु सहज थिएन।
उनी भन्छिन्, ‘यही समस्याले पहिले त्यहाँ पुगेका नर्सहरुले राति ड्युटी नगरेका रहेछन्। हामीले यसविरुद्ध लडेरै अघि बढ्ने लक्ष्य बनायौं।’
यातायात असुविधाका कारण समयमा औषधि र उपकरण नपाउने मात्रै होइन, कर्मचारीको क्षमता अभिवृद्धि तालिम लिन पनि समस्या थियो।
‘ती दिन साँच्चिकै कहालीलाग्दा थिए। सम्झौता गरेनौं, सकिने जति सेवा दिने प्रयत्न गर्यौं,’ उनले भनिन्।
भोक, निद्रा, घामपानी नभनेर सेवा दिंदा पनि गाली खाँदा भने उनलाई चित्त दुख्थ्यो तर आफूलाई सम्हाल्थिन्।
तारा डोल्पा जिल्ला अस्पताल पुगेको पाँच वर्ष भयो। यो अवधिमा अस्पतालको अवस्था आकाश–पाताल फेरिएको छ। यसमा उनको ठूलो संघर्ष मिसिएको छ। ताराहरु नेपालको स्वास्थ्य सेवामा छन् र त दुर्गमबासीले थोरै भए पनि स्वास्थ्य सेवाको महसुुस गर्न पाएका छन्।
जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाने उनको बानीले एकपल्ट गर्भवती आमा र बच्चाको ज्यान जोगाएको छ। आफ्नो ड्युटी नहुँदा पनि बिरामीको सेवा गर्नु कर्तव्य ठानेर उनी अस्पताल पुगेकी थिइन्।
उनी सम्झिन्छिन्, ‘एक गर्भवती महिला सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आउनुभएछ। मेरो ड्युटी थिएन। ड्युटीमा रहेकाहरुले सुत्केरी गराउने प्रयास गरे। तर, बच्चा उल्टो बसेकाले सकस भयो। त्यो सुनेपछि म अस्पताल आएँ। धेरै प्रयास गर्दा पनि बच्चा ननिस्किएपछि डाक्टरले बच्चा मरिसक्यो होला, आमा बचाउने प्रयास गरौं भन्नुभयो। तर, मैले हरेस खाइनँ। प्रयास जारी राखें। अन्ततः आमा र बच्चाकै ज्यान जोगाउन सफल भयौं।’
डाक्टरले समेत आफूले नसकेको काम गरेको भन्दै उनलाई धन्यवाद दिएका थिए। त्यो दिन ती बिरामीका आफन्तले ‘नर्स त भगवान् नै हुन्’ भनेको उनको कानमा अझै गुञ्जिन्छ र यसले थप हौसला प्रदान गर्छ।
उनले बिर्सनै नसकिने अर्को उपचार सेवा पनि दिएकी छिन्। जाडोको समयमा निमोनियाले ग्रस्त बच्चालाई जिल्ला अस्पताल पुर्याइएको थियो। अस्पतालमा एकजना डाक्टर पनि थिएनन् त्यो समय। जिल्ला अस्पतालमा बिरामीको उपचार गर्ने कुनै उपाय थिएन।
उनले सम्झिइन्, ‘हामीले मुखमा अक्सिजन लगाएर रातभरि आगो बालेर बिरामीको रेखदेख ग¥यौं। भोलिपप्ट हेलिकोप्टर बोलाइएको थियो तर आएन। सबैले बच्चा बाँच्ने आश मारे।’ तर, उनले अन्तिमसम्म प्रयास गर्ने निधो गरिन्। डाक्टरलाई फोन गरिन्। डाक्टरले फोनमै भनेअनुसारको उपचार प्रक्रिया अपनाएर उनले बच्चालाई निको पारिन्। उनी भन्छिन्, ‘त्यो बच्चाका अभिभावक अहिले पनि भेटेर आभार प्रकट गरिरहनुहुन्छ। मलाई आफ्नो पेसाप्रति गर्व महसुस हुन्छ।’
कञ्चनपुरको बेलडारी गाविस–९ मा सामान्य परिवारमा जन्मिएकी तारा सानै छँदा उनका आमाबाबु कैलालीको दरख गाविस– ७ मा बसाइँ सरेका थिए। २०४६ सालमा कैलालीको पहलमानसिंह मेमोरियल माध्यमिक विद्यालयबाट दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी तारा कान्ति राज्यलक्ष्मी उच्चमाध्यमिक विद्यालयमा दश जोड दुईमा भर्ना भइन्।
मानविकी विषय लिएर कक्षा १२ पढिडरहेका बेला उनले 4का लागि प्रवेश परीक्षा खुलेको थाहा पइन्। उनलाई नर्स बन्ने रहर पहिलेदेखि नै थियो। प्रवेश परीक्षा दिइन्, नाम निस्क्यो। खुसीले गद्गद् हुँदै घर पुगेकी थिइन् तारा।
तर, परिवारले आफ्नो आर्थिक अवस्थाले नधान्ने भन्दै पढाउन अस्वीकार गरिदियो। उनी सम्झिन्छन्, ‘मैले निकै अनुनय विनय गरेर राजी गराएँ।’ सुर्खेतको सेडा क्याम्पस अफ हेल्थ साइन्सबाट उनले ०६९ सालमा पिसिएल 4 पास गरेकी हुन्।
पास गरेलगत्तै जाजरकोट जिल्ला अस्पतालमा ६ महिनाको करार सेवामा काम गरिन्। त्यसपछि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा भोलिएन्टरका रुपमा सेवा दिइन्। लोकसेवा दिएकी थिइन्, यही बेला नतिजा आयो। उनी उत्तीर्ण भइन्।
भन्छिन्, ‘नाम निस्केपछि म आफैंले डोल्पा रोजेकी हुँ। किनकि हिमाली जिल्लामा कोही जान मान्दैनन् भन्ने थाहा थियो। मलाई त्यहाँ सेवा दिने ठूलो इच्छा थियो।’ सुरुमा सास्ती खेप्नुपरे पनि अहिले डोल्पा अस्पताल उनलाई असाध्यै प्रिय लाग्छ। आफूले दिएको सेवापछि मुस्कुराउने डोल्पाली ओठ र आभार प्रकट गर्ने आँखाहरु साँच्चिकै संसारकै सुन्दर लाग्छन् उनलाई।
दुर्गममा सेवा दिन निकै जोखिम रहेको उनी बताउँछिन्। त्यसैले पर्याप्त औषधि, आवश्यक उपकरण, स्वास्थ्यकर्मीको क्षमता विकासमा ध्यान दिन सम्बन्धित निकायलाई सुझाउँछिन्। डोल्पा जिल्लामा एक मात्र अस्पताल छ, त्यो पनि जम्मा १५ शैयाको। यसलाई कम्तीमा ५० शैयाको बनाउनुपर्ने उनी बताउँछिन्।
उनले भनिन्, ‘कर्मचारी पनि पर्याप्त छैनन्। दुर्गम तथा हिमाली जिल्लामा काम गर्ने कर्मचारीका लागि सरकारले विशेष सेवाको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो।’
दुर्गम र दूरदराजमा स्वास्थ्यको अवस्था कति नाजुक छ, उनले महसुस गरेकी छिन्। सरकारले लगानी गरेजस्तो लागे पनि त्यसको प्रतिफल स्थानीयले नपाएको उनले देखेकी छिन्। त्यसैले यसका लागि सम्बन्धित निकायमा बसेकाहरुको ध्यानाकर्षण गराउन चाहन्छिन्।
डोल्पालाई उनी यसरी धन्यवाद दिन्छिन्, ‘डोल्पाले मलाई चुनौतीसँग लड्न सिकायो। नर्सको भूमिकाको बोध गरायो। मलाई मनैदेखि सेवा गर्ने अवसर दियो र स्वास्थ्य सेवामा परिवर्तनका लागि एउटा इँटा भए पनि थप्ने मौका दियो।’