कठमाडौं– स्वास्थ्यको एक कार्यक्रममा सहभागी हुन अमेरिका जान खोजेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भिषा नपाएको खुलेको छ। क्षयरोगका विषयमा अमेरिकामा भएको उक्त कार्यक्रममा भिषा नपाएपछि यादव सहभागी हुन सकेनन्।
उक्त कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिल प्याकुरेललगायतका कर्मचारी भने सहभागी थिए। मन्त्री यादवले भिषा नपाएपछि विभिन्न देशका प्रधानमन्त्री, मन्त्रीहरु सहभागी कार्यक्रममा नेपालबाट भने कर्मचारी मात्रै सहभागी भए।
मन्त्री यादवले उक्त कार्यक्रमका लागि छोरा विपेश यादवलाई समेत उक्त कार्यक्रममा सहभागी गराउन खोजेका थिए। उनलाई स्वकीय सचिवको हैसियतमा कार्यक्रममा सहभागी गराउन खोजिएको बुझिएको छ।
मन्त्री यादवले ‘भिषा नोट’का लागि परराष्ट्र मन्त्रालयमा समेत सम्पर्क गरेका थिए। तर, सो समय परराष्ट्र मन्त्री, सचिव र वरिष्ठ सहसचिव मन्त्रालयमा नभएका कारण ‘भिषा नोट’ लेखाएर भिषा लिने उनको प्रयास सफल नभएको परराष्ट्र स्रोतले जनाएको छ।
मन्त्री यादवका प्रेस सल्लाहकार महेश चौरासियाले भने दिल्लीबाट पासपोर्ट ढिलो आइपुगेका कारण समस्या भएका बताए। उनले भने, ‘मन्त्रीज्युको पासपोर्ट दिल्लीमा थियो। पासपोर्ट ल्याएर भिषा प्रोसेस गर्दा ढिलो भयो। त्यसैले कार्यक्रममा सहभागी हुन पाउनुभएन।’
कार्यक्रम भने पूर्वनिर्धारित नै थियो ।