नेपालगन्ज– दाइजो कम ल्याएको निहुँमा आफ्नै श्रीमान् र परिवारका सदस्यबाट जिउदै जलाइएकी थिइन् नेपालगन्जकी २२ वर्षीया हास्रुन इद्रिसी। विवाह भएकाे ३ वर्षपछि रंगीन टेलिभिजन र ५० हजार रुपैयाँ दाइजाे नल्याएकाे भन्दै जलाइएकाे थियाे हास्रुनलाई।
२०६४ साल कात्तिक २० गते हास्रुनलाई श्रीमान्, सासु र नन्दले मट्टितेल खन्याएर अागाे लगाए। अाधा शरीर जलेकी हास्रुनको उपचारका लागि छिमेकी र आफन्तहले हारगुहार गरे।
मृत्युसँग जुधिरहेकी हास्रुनलाई नेपालगन्जको भेरी अञ्चल अस्पतालमा भर्ना गरियो। नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाडौं लगियो। घरेलु हिंसाको सिकार भएकी हास्रुनलाई उपचार र राहतमा धेरैले सघाए।
करिब ६ महिनाको उपचारपछि उनी आंशिक रुपमा निको भएर नेपालगञ्ज फर्किन्। तर अशक्त र एउटा कुरुप जिन्दगी लिएर।
२ वटा नाबालक छोरासहित उनी माइतीमा बसिन्। सहयोगी संस्थाहरुले माइतीमैं एउटा सानो पसल खोलिदिए। दुःख र कष्टका साथ उनका दिनहरु बित्दै गए। उनलाई निःशुल्क सिलाइकटाइ तालिम पनि दिइयो। जीविकोपार्जनका लागि केही सहयोग पनि पाइन्। तर, विस्तारै उनी बेसहारा बन्दै गइन्। संघसंस्थाले पनि कति सहयोग गरुन्। सधैं माइतीको सहारामा बस्न उनलाई मन लागेन। तर उनीसँग अर्काे कुनै विकल्प पनि त थिएन।
हास्रुनलाई जलाएको अभियोगमा उनका श्रीमान् बसिम इद्रिसी जेलमा थिए।
बाँके जिल्ला अदालतले श्रीमान् बसिमलाई ७ वर्ष र सासु रुक्सनालाई ५ वर्ष जेल सजाय गरेको थियो।
जेल परेपछि बसिमले आफूबाट ठूलो गल्ती भएको महसुस गरे। जेलमा राम्रो व्यवहार देखाए। उनको आधा कैद मिनाह भयो। साढे तीन वर्षमै उनी छुटे। जेलबाट छुट्नासाथ बसिम श्रीमती हास्रुन र छोराछोरीलाई भेट्न ससुराली गए। आफूबाट गल्ती भएको स्वीकार्दै माफी मागे। र, सँगै बस्ने प्रस्ताव गरे।
३३ वर्षीया हास्रुन भन्छिन्, ‘हातमुख जोर्नसमेत मुस्किल थियो, त्यस्तो बेला विगत बिर्सौं, सँगै बसाैं भनेर उनी (श्रीमान्) आए। मैले नाइँ भन्न सकिनँ।
श्रीमान्को प्रस्तावलाई मैले राम्रै माने। मान्छेले गल्ती गर्छ। गल्ती गरेपछि त्यसको सजाय पनि भोग्छ। ‘अब गल्ती गर्दिनँ, मलाई सुध्रिने मौका देऊ भनेपछि हुन्छ भनें। अहिले हामी सँगै बसेका छौं। अहिले सम्बन्ध राम्रो छ,’ उनले सुनाइन्।
मुद्दाका पक्ष–विपक्ष भई अदालतबाट जेल सजायको फैसला भइसकेपछि धेरैका घरबार भताभुंग हुन्छन्। तर, बसिमले विगतप्रति पश्चात्ताप गरेर हास्रुन र छोराछोरी सम्हाले। हास्रुनले पनि आफूलाई जीउँदै जलाउने श्रीमान्लाई माफी दिइन्।
परिवारका साथ हास्रुन ।
नेपालगन्जमा श्रीमान्को घर र जग्गाजमिन नभएका कारण उनीहरु माइती नजिकै डेरा लिएर बस्दै आएका छन्। पारिवारिक जीवनको दोस्रो अध्याय अगाडि बढ्दै जाँदा उनीहरुको छोरा जन्मियो। उनीहरुले छोराको नाम मुस्तफा राखेका छन्। मुस्तफाको अर्थ हुन्छ, भगवानको प्रिय दूत। मुस्तफाको आगमनसँगै उनीहरुको परिवारमा खुसियाली थपिएको छ।
जिन्दगी केही सहज बन्दै थियो, हास्रुनलाई फेरि अर्काे समस्या आइलाग्यो। सिलाइकटाइ गरेर परिवारको गुजारा चलाउँदै आएका श्रीमान् बसिन बिरामीले थला परे।
अल्सर र हाडजोर्नी दुख्ने समस्याका कारण बसिन काम गर्न नसक्ने अवस्थामा पुगे। शरीर जलाइएका कारण अशक्त बनेकी हास्रुनले नै काम गरेर श्रीमान् र बच्चालाई पाल्नुपर्ने बाध्यता आइपर्यो। आफैं काम गरेर परिवार चलाउनुपर्ने बाध्यताले उनले आफ्नो थप उपचार गराउन गकिनन्। ‘दिनभरि काम नगरे साँझ चुल्हो नजल्ने अवस्थामा कसरी उपचार गराउने,’ उनले भनिन्। तैपनि बिरामी श्रीमानकाे उपचार र लालाबालाको मुखमा माड लगाउन उनी दिनरात नभेर मेहनत गरिरहेकी छिन्।
अहिले गाउँकै समाजसेवी निजामुद्दिन इद्रिसीको पहलमा हास्रुनले माइतीघर नजिकैको मदरसामा सहयोगीको जागिर पाएकी छिन्। दैनिक ४ घन्टा काम गरेर मासिक ४ हजार पारिश्रमिक पाउन थालेपछि हास्रुनलाई गुजारा चलाउन केही सहज भएको छ।
उनी मदरसाबाट छुट्टी पाएपछि घरमै सिलाइकटाइको काम गर्छिन्। त्यसबाट आउने पैसाबाट जेनतेन उनको परिवार धानिएको छ।
आफ्ना दुःख र दर्दका कथा सुनाउँदै हास्रुन भन्छिन्, ‘गुजारा चलाउन जेजति दुःख भए पनि अहिले पहिलेजस्तो दाइजोको निहुँमा परिवारमा झगडा र मारपिट हुँदैन। मिलेरै गुजारा चलाइरहेका छौं। यसैमा हामी खुसी छौं।'
गरिबीका कारण उनका हुर्किएका छोरा छोरीहरुको पढाइलाई अगाडि बढाउन भने उनलाई हम्मे परेको छ। ११ वर्षीय छोरी सम्रिना र ९ वर्षीय छोरा समरको भविष्य कसरी सफल बनाउने भन्ने चिन्ता छ हास्रुनलाई।
हास्रुनलाई त्यो दिन सम्झँदा पनि कहाली लाग्छ। २०६४ साल कात्तिक २० गते बिहान ८ बजे उनी चामल केलाउँदै थिइन्। लोग्नेसँग सामान्य भनाभन भएपछि माइती जान खोजिन्। तर उनलाई समातेर मट्टितेल खनाइयो र सलाई कोरेर शरीरमा फालियो।
करिब ४ घण्टापछि छिमेकीले घरमा धुवाँ आएको देखेर सोधखोज गरे। उपचार गर्न लैजाने कुरामा पनि विवाद भयो। लोग्ने, सासु र नन्दको असहयोगका बाबजुद छिमेकीहरुले हास्रुनलाई अस्पताल पुर्याएका थिए।
२२ वर्षीया हास्रुनले एउटा रंगीन टेलिभिजन र ५० हजार दाइजो नल्याएको निहुँमा यो नियति भोग्नुपरेको थियो। विवाह भएको तीन वर्षपछि लोग्ने, सासु र नन्दको यो माग पूरा गर्न नसक्दा उनले जिउँदै जल्नु परेको थियो