काठमाडौं– स्वास्थ्य सचिव डा पुष्पा चौधरीले गैरकानुनी रुपमा मापदण्ड नै नपुगेको एक अस्पताललाई तीन सय शय्याको अस्पतालका रुपमा सञ्चालन अनुमति दिएकी छिन्।
घट्टेकुलोस्थित काठमाडौं नेसनललाई स्वास्थ्य सचिव चौधारीले सरकारले तोकेको मापदण्डविपरित रहेको प्रतिवेदन हुँदाहुँदै पनि ३ सय शय्या सञ्चालनको स्विकृती दिएकी हुन्।
स्वास्थ्य सचिव चौधरीले मन्त्रालयले नै बनाएको ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ ( दोस्रो संसोधन)’ विपरित उक्त अस्पताललाई सञ्चालन स्विकृति दिएकी हुन्।
घट्टेकुलोको २ रोपनी १० आना १ दाम जग्गामा बनेको उक्त भवनमा उक्त मापदण्ड अनुसार बढीमा ४५ शय्याको अस्पताल मात्र चलाउन मिल्छ । तर, यसका लागि पनि अस्पतालले सहरी विकास तथा भवन निर्माणविभाग अन्तर्गतको डिभिजन कार्यालयबाट भूकम्प प्रतिरोधी भवनको र वातावरण मन्त्रालयबाट वातवरणीय प्रभाव मुल्यांकन (इआइए) पास भएको प्रतिवेदन बुझाउनु पर्ने हुन्छ।
काठमाडौं नेसनलले अहिलेसम्म यी दुवै प्रमाणपत्र नबुझाएका कारण अस्पताल सञ्चालनको स्विकृती दिन मिल्ने आधार समेत छैन।
मन्त्रालयको अनुगमन महाशाखाले समेत ३ सय शय्याको स्विकृती दिन नमिल्ने राय दिएको थियो। तर, सचिव चौधरीले मन्त्रालयले नै बनाएको मापदण्ड, अनुगमन महाशाखाको प्रतिवेदन विपरित आर्थिक चलखेलका आधारमा उक्त अस्पताललाई तीन सय शय्या सञ्चालनको स्विकृती दिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
अस्पताल स्थापना तथा सञ्चालन निर्देशिकाको दफा १६ मा रहेको अस्पतालको पूर्वाधारसम्बन्धी मापदण्ड अनुसार तीन सय शैयाको शिक्षण अस्पताल चलाउन प्रति शय्या ५५ वर्गमिटर जग्गा अनिवार्य रुपमा चाहिन्छ। यो आधारमा हेर्दा तीन सय शय्याका लागि १६ हजार ५ सय वर्गमिटर जग्गामा भवन बनाउनु पर्ने हुन्छ। अर्थात ३२ दशमलव ४३ रोपनी जग्गामा अस्पताल भवन बनाउनु पर्ने हुन्छ।
काठमाडौं नेसनलको अस्पताल २ रोपनी १० आना १ दाम अर्थात २ हजार ५ सय ८ दशमलव ३८ वर्गमिटरमा मात्र बनेको छ। प्रति शय्या ५५ वर्गमिटरका आधारमा हेर्दा उक्त जग्गामा ४५ शय्यासम्मको अस्पताल मात्र बनाउन मिल्छ।
अस्पतालको जग्गामा ६० प्रतिशत खाली जग्गा छैन
मापदण्ड अनुसार अस्पताल रहने स्थानमा पार्यप्त मात्रामा खुला जग्गा हुनुपर्छ। अर्थात अस्पताल सञ्चालन हुने जग्गामा कुल जग्गाको ४० प्रतिशत भागमा मात्र भूकम्प प्रतिरोधी र भवन आचारसंहिता अनुसार भवन बनेको हुनुपर्छ। काठमाडौं नेसनलका हकमा यो कुरा पनि लागु हुँदैन। काठमाडौं नेसनलले दुई रोपनी १० आना १ दाम पैसामा खाली जग्गा नै नराखी अस्पताल निर्माण गरेको देखिन्छ ।
अस्पतालको सञ्चालन स्विकृतीका लागि काठमाडौं नेसनलले स्वास्थ्य मन्त्रालयमा बुझाएको कागजपत्रमा पनि यो कुरा उल्लेख छ। काठमाडौं नेसनलले बुझाएको कागजपत्रका आधारमा तीन शय शय्याको अस्पताल सञ्चालनको स्विकृती दिन नसकिने कुरा यसअघि भएको अनुगमन प्रतिवेदनमा पनि उल्लेखछ ।
अग्लो हुँदैमा शय्या थप्न मिल्दैन
मापदण्ड अनुसार थोरै जग्गामा अग्लो भवन बनाएको भरमा धेरै शय्याको अस्पताल सञ्चालन गर्न मिल्दैन। अस्पतालको भवन कुल जग्गाको ४० प्रतिशत भागमा बन्नुपर्छ र अस्पतालको भवन बाहेकको जग्गाबाट भवनको टुप्पोमा हेर्दा ६३ डिग्री भन्दा बढी हुनुहुँदैन। काठमाडौं नेसनलको भवन छेउमा बाँकी रहेको स्थानबाट भवनको टुप्पोतिर हेर्दा झण्डै ९० डिग्रीमा हेर्नुपर्ने हुन्छ। यसका साथै अस्पतालको कुल जग्गामा करिब २५ प्रतिशत पार्किङको व्यवस्था गरिएको हुनुपर्छ वा प्रति तीन शय्या एक कार अट्ने पार्किङ हुनुपर्छ । काठमाडौं नेसनल अस्पतालले यो मापदण्ड पनि पुरा गरेको छैन। अस्पतालमा भूमिगत पार्किङ त छ त निकै थोरै।