लमही– दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विमलेस गुप्ताले बताए।
अहिले डा गुप्ताले मात्रै अस्पताल धान्नुपरेको छ । तीन चिकित्सकको दरबन्दी भए पनि अन्य दुई दरबन्दी खाली रहेको डा गुप्ताले बताए। “राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप निकै हुन्छ”, उनले भने, “तर चिकित्सकको सङ्ख्या पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ।”
अस्पतालमा दैनिक ६० देखि एक सयसम्म बिरामी आउने गरेको डा गुप्ताले जानकारी दिनुभयो । पोष्टमार्टमका घटना दिनहुँ आउने गरेको र दैनिक सरदर ८१० जना दुर्घटनाका घाइते आइरहेको उनले बताए। १५ शय्याको अस्पतालमा हाल तीन चिकित्सकको दरबन्दी छ । यसअघि दुई डाक्टर कार्यरत रहेकोमा ईश्वरी खनाल अध्ययन बिदामा बसेपछि अहिले गुप्ता एक्लैले अस्पताल धान्नुपरेको हो ।
बिरामीलाई प्रभावकारी सेवा दिन अझै सात डाक्टर चाहिने देखिन्छ । सो अस्पतालमा हाल अहेब पाँच, नर्स एक, अनमी पाँच र कार्यालय सहयोगी दुई कार्यरत छन् । अझै १०१२ कर्मचारी आवश्यक परेको डा गुप्ताले बताए।
करारमा रहेका कर्मचारीको म्याद असार मसान्तदेखि थप नभएपछि सेवा सञ्चालनमा थप समस्या भएको डा गुप्ताको भनाइ छ । इमर्जेन्सीका दुई, प्यारामेडिकलका दुई, एम्बुलेन्स चालक एक, शववाहन चालक एक र कार्यालय सहयोगी तीन जनाको म्याद थप नभएपछि साउन १ देखि काममा समस्या भएको उनले बताए। कर्मचारी नभएका कारण एक्सरे, एम्बुलेन्स र शववाहन ठप्प भएको डा गुप्ताले बताए।