बाजुरा– उपचार गराउने खर्चको अभावमा बाजुराको गौमुल गाँउपालिका ५ मनाकोट बस्ने १७ वर्षीय शिव रोकाया चार महिनादेखि फ्याक्चर भएको खुट्टाको उपाचर गर्न सकेका छैनन् । गाँउबाट चारघण्टा टाढा रहेको भेरालेखमा बाख्रा चराउन गएको बेला भिरबाट लडेर खुट्टा भाच्चिएको थियो । डेढ महिनादेखि उनी काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना भएका छन् । तर, उपचार खर्चको जोहो गर्ने परिवारको सदस्य समेत नहुँदा उनी समस्यामा परेका छन्।
घरका एक्ला सदस्य शिव उक्त खुट्टाको उपचार गर्न आर्थिक जोहो गर्न नसक्दा दुई महिना त अस्पताल नै गएनन् । आमा धौली रोकायाको शिव ८ महिनाको हुँदा रक्त क्यान्सरका कारणले मृत्यु भएको थियो । भने बुवा पदम बहादुर रोकाया पनि १५ वर्ष पहिला भारत गएपछि सम्पर्कमा नआएको स्थानिय राज रोकायाले बताए । एक्ला रहेका शिबलाइ दुई महिनासम्म कसैले सहयोग गरेन।
शिवसँग कक्षा एकदेखि ४ सम्म सँगै पढेका राज रोकाया धनगढीबाट गाउँ गएपछि शिवलाई बोकेर उपचारका लागि धनगढी लगेका थिए । धनगढीमा रहेको सेति अञ्चल अस्पतालमा खुट्टा काट्नुपर्ने भन्दै वीर अस्पताल काठमाडौं रिफर गरेको थियो । शिवको साथी राजनले २० हजार रुपैयाँ ऋण झिकेर काठमाडौं लगे । उनलाई अहिले उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा राखिएको छ । उनी त्यहाँ भर्ना भएको डेढ महिना भएको छ । चिकित्सकले अझै ९ महिना जति राख्नुपर्ने बताएका छन् । अहिले उनको एक ठाउँको छाला काटेर अर्को ठाँउमा राखिएको छ । खुट्टाको अप्रेशन गर्नका लागि अझै समय लाग्ने चिकित्सकले बताएका छन्।
शिवले रुदै भने, ‘२० हजार ऋण लिएको सकिसक्यो र दैनिक १५ सय मुल्य बराबरको औषधि खानु पर्छ । त्यो पसा सकिएको दुई दिन भयो।’ दुई दिनदेखि औषधि किनेर खान नपाएको उनले बताए ।