राजविराज– सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तीन महिनाअघिसम्म पनि ‘रेफर सेन्टर’का रुपमा मात्र परिचित थियो।
उपचारका लागि आउने अधिकांश बिरामी धरान, विराटनगर, काठमाडौंलगायतका अस्पतालमा रेफर गर्ने काम मात्र गर्दथ्यो सो अस्पताल। बिरामीको उपचार गर्ने अस्पताल आफैं समस्यामा जकडिएपछि बिरामी निराश भएर फर्किनुपर्ने अवस्था थियो।
विशेषज्ञ डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि प्रयोग हुने भएका केही उपकरण समेत प्रयोगविहीन थिए। चिकित्सक नै नभएपछि बिरामी अन्यत्र रेफर गर्नुको विकल्प थिएन। फोहरमैला फ्याँक्ने र घरपालुवा जनावरको चरनस्थलमा परिणत हुनै लागेको अस्पतालको साख कमजोर हुँदै गएको थियो। कोही पनि चिकित्सक त्यहाँ जान मान्दैनथे।
तर, अहिले अस्पतालले मुहार फेरेको छ। तीन महिनाअघि मात्रै सरुवा भएर आएका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासको कुशल व्यवस्थापनले अस्पताल सुधार हुन थालेको सेवाग्राहीको भनाइ छ।

दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी अभाव मात्र होईन, उपचारका लागि अत्यावश्यक उपकरणको अभावसँगै सरसफाइको विकराल अवस्थाका कारण अस्पताल सुधार गर्न ठूलै धैर्य र अठोट चाहिन्थ्यो। कहाँबाट सुधारको थालनी गर्ने भन्ने अन्योलता थियो।
‘जहाँ चुनौती, त्यहीँ अवसर’ भन्ने उक्ति सार्थक पार्न मेसु दासले आफूलाई खरो उतार्ने अठोट गरे। सोही अनुरुप काम पनि अघि बढाए। उनको कुशल नेतृत्व र परिश्रमले अहिले सार्थकता पाउन थालेका छन्। तीन महिनाको छोटो अवधिमै अस्पतालमा सुधारका संकेत देखिन थालेका छन्।
‘स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गर्नु प्रमुख समस्या थियो,’ उनी भन्छन्, ‘अस्पतालको फोहरकै कारण अनेक जोखिम बढ्ने सम्भावना देखिएपछि मैले त्यहीबाट सुधारको थालनी गरें।’ फोहर मैला व्यवस्थापन योजना नै बनाएर उनले अस्पतालको वातावरण सुधारमा पहल सुरु गरे। ‘फोहरका कारण अस्पताल आफैं रोगी देखिएपछि बिरामीको आकर्षण कसरी बढाउनु?’ उनले आफैंलाई प्रश्न गरे।
अस्पतालमा हाल विद्युत तथा पानीको आपूर्ति छैन। यसका लागि पहल भईरहेको डा. दासले बताए। विद्युत प्राधिकरणका प्राविधक÷कर्मचारीसँग छलफल गरी नियमित विद्युत आपूर्तिका लागि काम सुरु भएको र जेनेरेटर पनि खरिद गरिसकिएको उनले बताए।
प्रदेश सरकारले आठ वटै जिल्लाका अस्पतालमा शुद्ध पानीका लागि योजना बनाएको जानकारी आएपछि त्यसका लागि पनि समन्वय भईरहेको उनले बताए। बाँकी काम पनि क्रमश गर्दै जाने जानकारी दिँदै उनले भने, ‘अस्पतालको अवस्था सुधारेरै छोड्ने हो, त्यसमा कुनै शंका नगर्दा हुन्छ।’
थपिँदै चिकित्सक
अस्पतालमा जिम्मेवारी सम्हाले आएसँगै दासले जनशक्ति व्यवस्थापन पहिलो प्राथमिकतामा राखेका छन्। विशेषज्ञ चिकित्सकको अभावले उपचारमा समस्या भएको अवस्थालाई मध्यनजर गरी उनकै प्रयासमा अहिले हाडजोर्नी, सर्जन र बालरोग विशेषज्ञको दरबन्दी सिर्जना गरी पदपूर्ति गरिएको छ।
स्वास्थ्य विभाग तथा राजविराज नगरपालिकाको सहयोगमा करीब आधा दर्जन मेडिकल अधिकृतको पनि व्यवस्था मिलाईएको दासले जानकारी दिए। नगरपालिका सँगै सप्तरीकै तिलाठी कोईलाडी गाउँपालिकाले पनि अस्पताल सुधारमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए। ‘अझैपनि विशेषज्ञको अभाव छ’ उनले थपे, ‘नाक, कान, घाँटी तथा स्त्री रोगविशेषज्ञको पदपूर्तिका लागि पनि पहल भइरहेको छ। तर यहाँ बाहिरका डाक्टर आउनै चाहिरहेका छैनन्।’
स्वास्थ्य सेवामा यसरी हुँदैछ सुधार

पूर्वाधारका दृष्टिले प्रदेश २ का अन्य ७ जिल्लाको तुलनामा राजविराजको सगरमाथा अञ्चल अस्पताल सबैभन्दा कमजोर रहेको दासको बुझाइ छ। तर, उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गरी सुधारको थालनी गरेका छन् दासले। ‘जनशक्ति बढाएर र उपकरण थपेर मात्र अस्पताल सुधार हुने होइन’ उनले अनुभव सुनाए, ‘सिष्टममा सुधार ल्याए सेवाको गुणस्तर आफैं बढ्छ, म त्यसैमा केन्द्रित छु।’
स्रोत साधन उपलब्ध छैन भनेर हात बाँधेर बस्नुभन्दा भएकालाई सदुपयोग गरी बाँकी विषयमा पहल गर्दा उपयुक्त हुने उनले बताए। उनको यही सकारात्मक सोचका कारण वर्षौंदेखि थन्किएर बसेका ४ वटा डायलायसिस मेसिनमध्ये अहिले ३ वटा सञ्चालनमा आएका छन्। ‘एउटा मेसिनमा केही प्राविधिक समस्या देखिएको छ, त्यसको मर्मतका लागि पहल भइरहेको छ,’ उनले भने।
डायलायसिस मेसिन सञ्चालनमा आएपछि मृगौला रोगीलाई सहज भएको उनले बताए। ‘डायलायसिस मेसिन मेरो पहलमा आएको होईन,’ उनी भन्छन्, ‘भएको उपकरणलाई थोरै पहल गरेर सञ्चालनमा ल्याएको मात्रै हो।’
सर्जन आएसँगै एपेन्डिसाईटिसको शल्यक्रिया पनि सुरु भएको छ। यसैगरी, अस्पतालमा शल्यक्रियाद्वारा सुत्केरी गराउने सिजरिङ्ग सेवामा पनि सुधार ल्याइएको उनले बताए। गत साउनमा २४ तथा भदौमा ४६ गर्भवतीको शल्यक्रिया गरी सुत्केरी गराईएको छ भने साउनमा २ सय ४४ र भदौमा ३ सय ३१ जनाले अस्पतालबाट प्रसुति सेवा लिएको अस्पतालको रेकर्डमा देखिएको छ।
थपिँदै सेवाग्राही

अस्पतालमा आएको सुधारले छोटो समयमा नै सेवाग्राहीको संख्या बढेको छ। अहिले दैनिक दुई सयभन्दा बढी बिरामीले अस्पतालवाट सेवा लिन थालेका छन्। बिरामीको संख्या थपिएसँगै आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या पनि थप गरिएको मेसु दासले जानकारी दिए।
‘पुरानो रेडर्क हेर्दा सेवाग्राहीको संख्यामा धेरै फरक देखिएको छ’ उनले भने, ‘तर, यत्तिमा सन्तुष्ट हुने अवस्था चाँहि छैन।’ अस्पतालमा आएको सुधार आँखाले देख्ने र अंकमा बताउँने भन्दा पनि सेवाग्राहीको सन्तुष्टिमा देखिनुपर्ने उनको भनाइ छ।