काठमाडौं– दसैं अवधिभर अधिकांश रुपमा पेटमा समस्या भएका बिरामी उपचारका लागि आएको वीर अस्पतालले जनाएको छ।
दसैं मनाउन धेरै नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएकाले ठूला दुर्घटनाका बिरामी भने नआएको अस्पतालका आकस्मिक विभाग प्रमुख भोलाराम श्रेष्ठले बताए।
उनले भने, ‘अन्य समयमा दैनिक १ सय ३० को हाराहारीमा बिरामी इमरजेन्सीमा आउँथे, दसैंमा भने ८० जना जति आए। तर, अधिकांशमा पेटकै समस्या पाइएको थियो।’ उनले धेरैजसोमा सामान्य झाडापखाला, बान्ता हुने र ग्यास्टि«कको समस्या देखिएको श्रेष्ठले बताए।
‘दसैंमा असन्तुलित रुपमा खाना, मासु र रक्सी खाँदा पाचन प्रणालीमा समस्या भएर अस्पताल आउने बढी भएको पाइयो,’ श्रेष्ठले भने, ‘ग्यास्ट्रिक बिग्रिएर आन्द्रामा प्वाल पर्ने बिरामीको संख्या पनि उत्तीकै थियो।’
कोजाग्रत पूर्णिमासम्म दसैं मनाइने हुँदा झाडापखालाका बिरामी बढ्न सक्ने उनको भनाइ छ। बासी मासु र खानेकुरा खान नहुने उनको सुझाव छ। बढी खाना खाँदा पचाउन गाह्रो हुने र यसले मिर्गौलामा समेत समस्या पार्ने चिकित्सकको भनाइ छ।
दसैंको बेला डाइलासिस गर्नुपर्ने केही मिर्गौलाका बिरामीहरु नआएको जनाउँदै श्रेष्ठले भने, ‘समयमा डाइलासिस गरिएन भने बिरामीको स्वास्थ्य झनै बिग्रिन्छ।’