काठमाडाैं- त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनको दोस्रो तल्लाको बेड नं ६०८ मा छन् शंखरापुर –५ नगरकोटका २० वर्षीय रञ्जित घिसिङ। औषधि खाने तयारीमा छन् उनी।
‘तीन महिनाअघि सुरुमा ज्वरो आउने अनि खोकी आउँथ्यो, म त नर्मल नै होला भनेर फार्मेसीबाट ज्वरो र खोकीको औषधि किनेर ल्याएर खाएँ तर निको नै भएन। पछि अस्तपाल गएपछि रगत चेकअप गर्दा थाहा भयो मलाई ब्लड क्यान्सर भएको रहेछ,’ बेडबाटै उनले सुनाए।
उनी अस्पतालमा भर्ना भएको तीन महिना भयो। रञ्जित थप्छन्, ‘डाक्टरले ठिक हुन्छ भनेका छन्, निको भएपछि त म मुस्ताङ जान्छु।’
उनले यसपालिको दसैं अस्पतालको शैय्यामै मनाए। दाजु भाउजू उनीसँगै थिए। दसैंमा उनलाई टीका लगाइदिन बुवा पनि आएका थिए। उनका बुवाले बेडमै राखेर टीका र जमरा लगाइदिए। छिटो निको हुने आशिष पनि दिए।
बुवाको हातबाट दसैंको टीका थाप्दै रञ्जित
अस्पतालको बेडमा रहँदा उनलाई साथीभाइसँग घुमेको साथै घरपरिवारसँग रमाएको खुब याद आयो।
‘अरुबेला सबै आफन्तहरुसँग दसैंको बेलामा सँगै भेट हुन्थ्यो। सम्झना त आइहाल्छ नि,’ उनले मन अमिलो पार्दै भने।
'अर्को वर्ष दसैंसम्म औषधि पनि सकिन्छ,’ मनमा आशाको दियो जगाउँदै उनले भने, ‘त्यो बेला निको पनि भइसक्छु अनि मज्जाले दसैं मनाउँछु।’
रञ्जित रक्त क्यान्सरलाई आफूले पराजित गर्न सक्नेमा विश्वस्त देखिन्छन्। रोग र त्यसैलाई निको पार्न चलाइएको औषधिले उनको शरीर केही गलाएको छ। तर, उनमा नैराश्य पटक्कै देखिँदैन।
उनी समय कटाउन कहिले गीत सुन्छन् त कहिले मोबाइलमा गेम खेल्ने गर्छन्। १२ कक्षाको परीक्षा दिएर बसेका उनी निको भएपछि पढाइ सुचारु राख्ने योजना सुनाउँछन्।
साथीहरुले फोन गरेर के भएको हो भनेर सोध्छन् उनलाई। उनी सरसर्ती आफूलाई ब्लड क्यान्सर भएको बताउँछन्।
धेरैले प्रतिप्रश्न गर्छन्, ‘बाँचिएला त?’
यो प्रश्नको तीर उनको मुटुसम्म पुग्छ र नमिठोगरी बिझाउँछ।
रञ्जित भन्छन्, ‘केही हुँदैन, निको भइहाल्छ भनेर झन् हौसला दिनुका साटो ‘बाँचिएला त ?’ भनेर सोध्दा नमिठो लाग्छ, तर बुझ्ने साथीहरुले छिटो निको हुन्छौ भनेर ढाडस दिन्छन्।’
घर जस्तै अस्पताल
अस्पतालमा घरको जस्तै वातावरण नपाए पनि उनी र अरु बेडका साथीभाइ मिलेर अस्पतालमै दसैं मनाए। सबै एकसाथ बसेर मासु चिउरा खाए।
रञ्जितले मुस्कुराउँदै भने, ‘यत्तिका महिना बसेपछि त अस्पताल पनि घर जस्तै लाग्न थालेको छ।’
अस्पतालको बेडमा दसैं मनाउँदै सुन्दर भविष्यको कल्पना गरिरहेका अर्का युवा भेटिए, बेड नं ६०६ मा। उनी हुन्, गैँडाकोट नवलपुरका सुरज सापकोटा। उनी पनि रञ्जितकै उमेरमा हुन्। उनको कात्तिक ६ गते जन्मदिन रहेछ।
सुरज मुस्कुराउँदै भन्छन्, ‘मैले त दसैं मात्र होइन जन्मदिन पनि यहीँ मनाए। अब तिहार पनि यतै मनाउँछु।’
उनी बेडबाट उठ्न सकेका थिएनन्। यो बुझेर उनकी आमाले छेउछाउका रुमहरुतिर अरु बिरामीलाई 'बर्थडे चकलेट' बाँड्दै थिइन्।
उनको कथाव्यथा पनि रञ्जितको जस्तै छ। फरक यत्ति हो, उनले रञ्जितभन्दा अस्पतालमा बढी समय बिताएका छन्।
उनी पनि ब्लड क्यान्सरबाट पीडित छन्। बिरामी भएका कारण उनले अघिल्लो साल १२ कक्षाको जाँच दिन पाएनन्। चेकजाँचका लागि दौडधूप भएकाले जाँच दिन नपाएको बाध्यता सुनाउँदा उनी खिन्न देखिए।
आइटी पढ्ने लक्ष्य लिएका उनी निको भएपछि परीक्षाको तयारीमा जुट्नेछन्।
‘म गत फागुन ८ गतेबाट बिरामी पर्न सुरु गरेको थिएँ। दिउँसो राम्रैसँग हिँड्डुल गरेको मान्छे राति एक्कासि ढाड दुख्यो। एक-दुई दिन खासै ख्याल गरिनँ। पछि धेरै दुख्न थाल्यो,’ उनले सम्झिए।
उनको ठूलोबाबाको पोलिक्लिनिक रहेछ। त्यहीँ गएर भिडियो एक्सरे गरेछन्। किड्नी सुन्निएको जस्तो देखिएपछि उनी सिटी स्क्यान गर्न नारायणघाट गए। सिटी स्क्यानपछि किड्नीमा मासु पलाएको पत्ता लाग्यो। त्यसपछि भरतपुरमा थप उपचार गराए। चेक गराउँदा दुइटा ट्यमुर भएको पत्ता लाग्यो। भारतको राजीव गान्धी अस्पतालसम्म पनि पुगे उनी, बायाेप्सीका लागि। 'त्यसपछि पो थाहा भयो। ट्यमुर ब्लड क्यान्सरले भएको रहेछ,’ उनले भने।
आउँदो १२ गते अस्पताल भर्ना भएको ६ महिना पुग्दैछ। यसपालिको दसैं निरशपूर्ण बितेकोमा उनले दु:खमनाउ गरे। ‘पहिला त दसैंमा निकै रमाइलो हुन्थ्यो। साथीभाइहरुसित रमाइलो गरिन्थ्यो। दसैंको माहोलमा आफ्नो गाउँठाउँ त मिस नहुने कुरै भएन। जे भए पनि अस्पतालको बेडमै मैले दसैं मनाए। यो मेरो लागि नौलो अनुभव भयो,’ उनले बेलीविस्तार लगाए।
उनका बुवाआमा उपचारका लागि यतै कोठा लिएर बसेका छन्।
सुरजले जब आफूलाई क्यान्सर भएको थाहा पाए उनी आफू कत्ति पनि आत्तिएनन्।
आइटी पढ्ने सोचेका छन् उनले। ‘भारतीय क्रिकेटर युवराज सिंहलाई पनि ब्लड क्यान्सर भएको हो। सन् २०११ के वर्ल्डकप खेल्दाखेल्दै मैदानमा रगत वान्ता गर्दा पनि म्याच सकाएका थिए उनले। पछि थाहा भयो उनलाई ब्लड क्यान्सर भएको रहेछ। उनी त अहिले ठिक भइसके, म किन हुन नसक्नु?’ उनी आत्मविश्वासपूर्वक भन्छन्।
सुरजलाई लाग्छ– ५० प्रतिशत रोग त आफू मानसिक रुपमा बलियो भएपछि ठिक हुन्छु। ‘उपचारमा रहँदा शारीरिक रुपमा धेरै कमजोर भइन्छ तर मानसिक रुपमा बलियो हुन जरुरी छ,’ उनले भने।
दसैंका बेला अस्पतालमै रहनुपर्दा साथीभाइहरुलाई धेरै मिस गरेको उनले सुनाए। समय बिताउन उनी कहिले फिल्म हेर्छन् त कहिले मोबाइलमा गेम खेल्छन्।
अहिले उनलाई रुघाखोकी लागेको छ, त्यसैले औषधि चलाउन मिलेको छैन।
‘मेरो शरीरमा क्यान्सरका सेलहरु छैनन् अब। फेरि नफर्कोस् भनेर अरु थप उपचार हुँदैछ। पहिला बोनम्यारो ट्रान्सपलान्ट गर्नुपर्छ भनिएको थियो।अहिले नपर्ने भएको छ,' डाक्टरको भनाइ उद्धृत गर्दै उनले भने।
बैसाखमा हुने कक्षा १२ को परीक्षाको लागि पनि उनले तयारी गर्नुपर्नेछ।
उनको कुरा सुनिसकेर हामी निस्कन लागेका थियौं। जन्मदिनको चकलेट दिँदै भने, ‘फेरि पनि भेट्न आउँदै गर्नुस् है दिदी।’
जन्मदिनको शुभकामनामा दिँदै हामीले उनलाई स्वास्थ्य लाभको कामना गर्यौं।
उनले ‘हस्’को संकेतमा टाउको हल्लाए। निको हुने आशाका तरंग उनका आँखामा स्पष्टै देख्न सकिन्थ्यो।