राजविराज– भवन अभावमा कतिपय स्वास्थ्य संस्थाले सर्वसाधारणलाई सेवा दिन नसकिरहेका बेला सप्तरीमा भने एक स्वास्थ्य संस्थाको भवन निजी विद्यालयलाई भाडामा दिएको पाइएको छ।
राजविराज नगरपालिका–१, शिवथान स्थित स्वास्थ्य चौकीको भवनमा विगत एक दशकभन्दा अघिदेखि सिर्जना बोर्डिङ्ग स्कुल सञ्चालनमा छ।
बोर्डिङ्गले स्वास्थ्य संस्थाका लागि निर्माण गरिएको भान्सासहितको कोठे पक्कि भवनमा २०६४ सालदेखि कक्षा सञ्चालन गरिरहेको छ । स्वास्थ्य संस्थाको भवन भाडामा लगाएपछि अहिले स्वास्थ्य चौकीको काम भने पुर्वपट्टिको अर्को ५ कोठे घरवाट सञ्चालन भइरहेको स्वास्थ्य चौकीका खरिदार रामप्रसाद दासले बताए।
विद्यालय सञ्चालन गरे वापत स्वास्थ्य चौकीले मासिक एक हजार रुपैयाँ भाडा पाउँदै आएको उनले जानकारी दिए । स्थानीयवासीले भने स्वास्थ्य संस्थाको भवन निजी विद्यालयलाई भाडा लगाएको विषयमा विरोध जनाएका छन् । यस विषयमा पटक–पटक जानकारी गराउँदा समेत सम्वन्धित निकायले चासो नदेखाएको उनीहरुको भनाई छ।

सरकारी भवनको दुरुपयोगले स्वास्थ्य सेवा प्रभावित भईरहेको स्थानीयवासी पर्शुराम यादवले बताए । ‘दश वर्षभन्दा वढि समयदेखि स्वास्थ्य संस्था भवन न्यून रकममा भाडा लगाइएको छ,’ उनले भने, ‘बढ्दो जनसंख्याको चापलाई दृष्टिगत गरी संस्थाको भवन आफ्नै मातहतमा उपयोगमा ल्याइनुपर्दछ।’
स्वास्थ्य चौकीका इन्चार्ज रुद्रनारायण झाले आफू आउनु भन्दा पहिलेदेखि नै भवन भाडामा लागेकाले चासो नलिएको बताए । तत्कालिन स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिले मासिक भाडा लिने गरी निर्णय गरेरै भवन भाडामा लगाएको उनले स्पष्ट पारे । ‘लामो समयदेखि विद्यालय सञ्चालनमा रहेछ, हटाउनु पर्छ भन्ने पनि कतैबाट निर्देशन आएन,’ उनले थपे, ‘संस्थागत निर्णय गरेरै दिएकाले हामीले पनि खासै चासो राखेनौं।’
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत निरन्जन प्रसाद यादवले भने स्वास्थ्य संस्थामा निजि विद्यालय संचालनमा रहेको विषय यसअघि आफूलाई जानकारी नै नभएको वताए । उनले सरकारी भवन भाडामा दिनु गैरकानुनी भएको बताउँदै तत्कालै भवन खाली गराउन स्वास्थ्य चौकीलाई निर्देशन दिने बताए।
राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव र वडा अध्यक्ष चन्द्रशेखर चौधरीसँग पनि आफूले विद्यालय हटाउने विषयमा पहल गर्ने जनस्वास्थ्य अधिकृत यादवको भनाई छ।
