बैतडी– बैतडीको सिगास गाउँपालिका ९ मा रहेको चौखाम स्वास्थ्य चौकी र काकडा प्रसूति केन्द्रमा जिर्ण भवन र खिया लागेको उपकरण छन् । यसैबाट स्वास्थ्य सेवा सञ्चालनमा आइरहेको छ।
स्वास्थ्य चौकीको भवन जुनकुनै बेला भत्किने अबस्थामा पुगेको छ भने खिया लागेका उपकरण छन् । यहीँबाट जसोतसो स्वास्थ्य सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकी ईन्चार्ज हेमन्तसिंह साउदले बताउँछन् । २०५३ सालमा स्थापना भएको ३ कोठे भवन पानी पर्दा चुहिने गरेकोे गरेको उनले जानकारी दिए। ‘भवनको सबै कोठामा, झ्याल, ढोकामा पनि धमिरा लागेको छ र सुत्केरी गराउने बेडमा खिया लागेको छ,’ साउदले भने।
सामान्य भुकम्प आएपनि पनि भवन भत्किने अबस्थामा रहेकाले स्वास्थ्यचौकी भित्र रहँदा डर लाग्ने स्वास्थ्यकर्मीहरु बताउछन् । स्वास्थ्य चौकीमा भएका प्रसूति टेवल, प्रससूति गराउन प्रयोग गरिने उपकरणहरु पनि खिया लागेका छन् । स्वास्थ्य चौकीको अवस्थाका कारण सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन समस्या रहेको इन्चार्ज साउद बताउँछन्।
चार महिनादेखि पाँचजना सुत्केरी सेवा लिन आउने गरेका छन्। त्यही खिया लागेको बेड र खिया लागेको उपकरणबाट सेवा दिँदै आएको स्वास्थ्यकर्मीले बताए । स्वास्थ्य चौकीमा पनि खानेपानीको निकै अभाब रहेको छ । दैनिक उपचारमा प्रयोग हुने उपकरण थर्मामिटर, रक्त्त चाप नाप्ने, तौल नाप्ने उपकरण समेत बिग्रीएको स्वास्थ्यले वताएको छ।
स्वास्थ्य चौकीको भवन जिर्ण हँुदा आफूहरुलाई सेवा लिनमा धेरै समस्या हुने गरेको स्थानीय पुष्कर बहादुर चन्दले बताए। भवनको कारण आफूहरु सेवा लिन स्वास्थ्य चौकी जान डराउने गरेको छौ चन्दले थपे । स्वास्थ्य चौकीको समस्या बारे वडा अध्यक्ष लक्ष्मीदेवी चन्दले वडा कार्यालयलाई अख्तियारी नभएकोले केही गर्न नसकेको बताएकी छन् । उनले गाउँपालिका लगाएतका निकायसँग स्वास्थ्य चौकीको समस्या समाधानको लागी पहल गरिरहेको बताएकी छन्।
त्यस्तै चौखाम स्वास्थ्य चौकी अन्तर्गत रहेको काकडा सुरक्षित प्रसुति केन्द्रमा पनि जिर्ण भवन, खिया लागेको बेड र उपकरण अभावमा सेवा दिइरहेको केन्द्रमा कार्यरत अनमी उत्तमा पनेरुले बताइन्। ‘महिनामा दुईतीन जना सुत्केरी सेवा लिन आउने गर्छन्, खिया लागेको बेड र उपकरणबाट सेवा दिँदै आएक छौं,’ उनले भनिन्। प्रसुति केन्द्रमा बत्ति नहँुदा राति मोवाइलको टर्च बालेर सुत्केरी सेवा दिनुपरेको उनले बताइन्। ‘प्रसुति केन्द्रमा शौचालय छैन्, शौचालय नहुँदा बिरामीले खुला ठाँउमा शौच गर्नु परेको छ,’ उनले भनिन्।
जिल्ला स्वास्थ्य कार्यलय बैतडीका प्रमुख डा. जगदिश बिष्ट भने ब्यबस्थापन अनुगमनको जिम्मा स्थानिय तहको रहेको भन्दै पन्छिए।