काठमाडौं- सरकारले स्वास्थ्य सचिव रहेकी डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तानेको १५ दिन भइसकेको छ।
स्वास्थ्य मन्त्रालय रहँदा विवादास्पद कार्य गरेको भन्दै उनलाई प्रधानमन्त्री कार्यालय तानिएको हो। तर, स्वास्थ्य मन्त्रालयबाट सरुवा गरे पनि उनले आइतबारसम्म पनि रमाना लिएकी छैनन्।
मन्त्रालयका उपसचिव बाबुराम खनालले पत्र आइसकेका कारण अब रमाना लिन आउने सम्भावना रहेको जानकारी दिए।
‘आजसम्म त रमाना लिनु भएको छैन,’ उनले भने, ‘सायद भोली आउनुहुन्छ होला।’
मुख्य सचिव लोकदर्शन रेग्मीका अनुसार उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी जिम्मेवारी नतोकी सरुवा गरिएको हो।
सचिव डा चौधरीलाई २८ असोजको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूह (जगेडा)मा राख्ने निर्णय गरेको थियो।
सरुवा भए पनि सचिव डा चौधरी शनिबार पनि मन्त्रालयमा पुगेकी थिइन्। उनले यो बिचमा विवादित फाइल लुकाउने र प्रमाण नष्ट गर्ने काम गरेको मन्त्रालय स्रोतले जानकारी दियो।
सचिव डा चौधरीले काठमाडौं नेसनल अस्पताललाई मापदण्ड विपरित स्विकृती दिएकी थिइन्। सञ्चारमाध्यममा उक्त खबर सार्वजनिक भएपछि उनले उक्त निर्णयको फाइल लुकाएर राखेकी थिइन्।
स्वास्थ्य सचिव रहँदा उनले छोरीलाई सरकारी गाडी सहित अन्य सेवा सुविधा समेत गैरकानुनी रुपमा उपलब्ध गराउँदै आएकी थिइन्।
यो पनि पढौं :