काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन्।
शनिबारदेखि रुघाखोकीले ग्रस्त ओलीको स्वास्थ्यमा थप समस्या आएकाले आज बिहान ४:३० बजे महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा भर्ना गरिएको थियो।
उनको स्वास्थ्यबारे जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु बिहानै अस्पताल पुगेका छन्। नेकपा महासचिव विष्णु पौडेल, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा पनि अस्पताल पुगेका छन्।
प्रचण्डले अन्नपूर्ण अस्पतालमा उपचाररत अधिकारकर्मी पद्मरत्न तुलाधरलाई पनि भेटेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराए।
शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत स्वास्थ्य समस्याकै कारण प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए। तर श्वासप्रश्वासमा गडबडी आएपछि उनलाई गएराति उनलाई अस्पताल पुर्याइएको थियो।
मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको छ।