काठमाडौं- छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे अस्पतालले दोस्रो विज्ञप्ति जारी गरेको छ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
अस्पतालले साँझ ६ बजे सार्वजनिक गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीको पछिल्लो परिक्षणको रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको उल्लेख छ।
अस्पतालले यसअघि बिहान पहिलो विज्ञप्ति जारी गरेको थियो। पहिलो विज्ञप्तिमा प्रधानमन्त्री ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको उल्लेख थियो।
उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह र डा. सन्तकुमार दास संलग्न छन्। प्रधानमन्त्री ओलीलाई बिहान ४:३० बजे अस्पताल भर्ना गरिएको थियो।
उनकी निजी चिकित्सक डा दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले ६० प्रतिशत सुधार आएको छ। ‘उहाँको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ,’ उनले भनिन्, ‘औषधि र आवश्यक उपचारका कारण अहिले उहाँको समस्यामा ६० प्रतिशतभन्दा बढी सुधार भइसकेको छ। ज्वरो पनि घटेको छ।’
डा शाहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा तीन दिन अस्पतालमै राख्नुपर्ने हुन्छ। ‘त्यसपछि आराम गर्दा हुने अवस्था देखिएको छ,’ उनले भनिन्।
प्रधानमन्त्री ओलीको छातीमा निमोनिया भएर पानी जमेको अवस्था भने नरहेको उनले जानकारी दिइन्।
दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरुले अनुमान गरेका छन्।
मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता कम हुने गर्छ। यस्तो अवस्थामा रुघाखोकीले सतायो भने संक्रमण चाँडै बढ्ने खतरा रहन्छ।
