काठमाडौं– विशेष अदातलले विदेशी विद्यार्थीसँग चिकित्सा शिक्षाको अध्ययन मिलाइदिने भन्दै रकम उठाउने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालकी कर्मचारीलाई दोषी ठहर गरेको छ।
विशेष अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थानमा भर्ना गराइदिने भन्दै रकम उठाएर भ्रष्टाचार गरेको अभियोगमा उर्मिलाकुमारी लामालाई दोषी ठहर गरेको हो।
विशेष अदालतका न्यायाधीशहरु द्वारिकामान जोशी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेको इजलासले लामालाई २ वर्ष ६ महिना कैद र ४४ लाख ११ हजार बिगो र जरिवाना गर्ने फैसला सुनाएको हो।
विदेशी विद्यार्थीलाई कोटा उपलब्ध गराइदिने भन्दै लामाले रकम उठाएको अख्तियारमा उजुरी परेपछि अनुसन्धान गर्दै २०७२ भदौ २१ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। शिक्षण अस्पतालमा कार्यरत रहेकी उनले विदेशी विद्यार्थीहरुलाई डिमार्ट पठाउने भन्दै प्रतिव्यक्ति २०० सय डलर उठाउने र त्रिविको खातामा जम्मा गर्नुपर्ने रकम आफ्नो खातामा राखेको अख्तियारको अनुसन्धानमा पाइएको थियो।
धेरै वर्षसम्म यसरी रकम संकलन गरेको थाहा पाएपछि शिक्षण अस्पतालले उनको अस्पतालसँग कुनै पनि सम्बन्ध नभएको भन्दै सूचना नै जारी गरेको थियो।
विशेषले लामालाई १४ लाख ७० हजार ७ सय बिगो र त्यसको दोब्बर २९ लाख ४१ हजार ५ सय ४३ जरिवाना गर्ने फैसला सुनाएको हो।