डडेल्धुरा– स्क्रब टाइफस रोगको संक्रमण डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ।
पहिलोपटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरुमा अन्य पहाडी जिल्लामा पनि देखा पर्न थालेको हो। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १ सय ३० जनालाई जाँच्दा ५० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेल्धुरासँग तथ्यांक रहेको छ।
उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि हालसम्म दुईजनाको मृत्यु समेत भएको छ। मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्त रहेकी छन्। भट्टको धनगढी र पन्तको नेपालगञ्जमा उपचारक्रममा मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए।
यसको संक्रमण बढ्दै जान थालेपछि बिरामी उपक्षेत्रीय अस्पताल डडेलधुरा पुगेर चेकजाँच गराइरहेका छन्। स्क्रब टाइफस रोगबाट संक्रमण भएका बिरामीको उपक्षेत्रीय अस्पताल उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी र बझाङमा स्क्रब टाइफस रोगको संक्रमण देखिएको अस्पतालले जनाएको छ।
डडेल्धुराको अजयमेरु, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिकासँगै बैतडी, डोटी र बझाङ जिल्लाबाट पनि संक्रमण संक्रमण देखिएका बिरामीहरु उपक्षेत्रीय अस्पताल आउने गरेको डा. कँडेलले बताए। स्क्रबटाइफस रोग लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्षण देखा पर्ने डा. कँडेलले बताए।
यहाँका विभिन्न जिल्लाहरुमा रोगको संक्रमण बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा यो रोगको प्रकोपको नियन्त्रण तथा पहिचानका लागि विभिन्न पहल भइरहेको डाक्टर अवस्थीको भनाइ छ। ‘अहिले महिला स्वास्थ्य स्वयम सेविका मार्फत जनचेतना फैलाउने काम भइरहेको छ,’ उनले भने, ‘उपचार हुने अस्पतालमा आवश्यक सामग्री र जनशक्ति उपलब्ध गराउने काम निर्देशनालयले गरिरहेको छ।’
स्क्रब टाइफसले सुदूरपश्चिममा पनि बिकराल रुप लिँदै गएपछि महामारीको खतरा बढेको छ। सचेत रहन सबैलाई चिकित्सकहरुले आग्रह गरेका छन्। स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी दुख्ने, अत्याधिक टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखापछि अस्पताल आएको नवदुर्गा गाउँपालिकाकी कमलीदेवी विष्टले बताइन्।
स्क्रब टाइफस के हो?
स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले सार्ने गर्दछ। रोगको किटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ।
पहिलो पटक सन् १९३० तिर जापानमा देखा परेको यो रोग हाल भने नेपालका बिभिन्न स्थानमा पनि देखा परेको छ। दोस्रो विश्वयुद्धको बेला युद्धमा खटिएका सेनाहरु जंगलका झाडी हुँदै हिँड्दा ‘माइट’ले टोकेको र टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवी पनि शरीरमा छोडेकोले उनीहरुमा यो रोग लागेको पाइएको थियो।
तर, नेपालमा भने ‘मुसा ले यो रोग सारेको पाइएको छ। झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जांँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग भएको पाइएको छ।
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै ज्वरो आउने १०४ डिग्री भन्दा बढि र काम ज्वरो समेत आउन सक्दछ। टाउको दुख्नु, खोकी लाग्नु, मांसपेशी दुख्नु, पाचन अङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदि यसका प्रमुख लक्षण हुन्। रोग समयमै उपचार नगरेमा वा जीर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा संक्रमण फैलिई बिरामीको मृत्यु समेत हुन सक्छ ।
यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ । औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने चिकित्सकको भनाइ छ। यस्तै किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहे भने पनि यसबाट बच्न सकिने चिकित्सक बताउँछन्। यसको लागि घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घाँसबारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नु पर्दछ।
अजयमेरु गाउँपालिकाले बिरामीको निःशुल्क उपचार गर्ने
स्क्रबटाइफस रोगको संक्रमण बढ्दै गएपछि अजयमेरु गाउँपालिकाले बिरामीको निःशुल्क उपचार गर्ने जनाएको छ । स्क्रब टाइफस रोगको लक्ष्ण देखा परेमा तुरन्त उपक्षेत्रीय अस्पतालमा चेकजाँच गराउन गाउँपालिका बासीलाई गाउँपालिका अध्यक्ष उमेश भट्टले सबैमा आग्रह समेत गरेको बताए।
नवदुर्गा गाउँपालिकामा पनि स्क्रब टाइफस रोग देखा परेकाले सजगता अपनाउनुका साथै ज्वरो आउदा वा अन्य लक्षण देखा परेमा स्वास्थ्य संस्थामा जान नवदुर्गा गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले आग्रह गरेको बताए। मुसाबाट यस रोगको संक्रमण फैलिने तथा यो सरुवा रोग भएकाले सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले स्थानीयलाई आग्रह समेत गरेको छ।