नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित १८ वटा आँखा अस्पतालमध्ये भरतपुर आँखा अस्पताल पनि एक हो। अस्पतालले ३१ वर्षको अवधिमा १४ लाख ८१ हजार ५ सय ३८ जनालाई उपचार सेवा दिएको छ। अस्पताल २०४४ साल चैत १८ मा स्थापना भएको हो।
बिरामी जाँच्ने विशेषज्ञ सेवासहित रेटिनाको छुट्टै क्लिनिक रहेको यस अस्पतालमा १६ वर्ष मुनिका बालबालिका जाँच्ने पेडियाट्रिक आई केयर डिपार्टमेन्ट पनि छ। अस्पतालमा हाल दैनिक दैनिक ४ सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी रमेश घिमिरे बताउँछन्।
बहिरंग सेवा, अन्तरंग सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, विशेषज्ञ सेवा, दृष्टि पर्दा सेवा, कर्निया सेवा, आँखाको प्लास्टिक सर्जरी सेवा, बाल आँखारोग सेवा, कन्ट्याक्ट लेन्स सेवा, न्युन दृष्टि सेवा, अर्थोप्टिक्स सेवालगायतका सुविधा अस्पतालले दिन्छ।
सहरी क्षेत्रका बिरामीको सुविधालाई ध्यानमा राखेर अस्पतालले सिटी क्लिनिक पनि सञ्चालनमा ल्याएको छ। यसका साथै ग्रामीण क्षेत्रका मानिसमा पहुँच बढाउन समुदायस्तरमा ९ वटा आँखा सेवा केन्द्र पनि सञ्चालनमा छ। चनौली, माडी, ठोरी, टाँडी, सौराहा, धादिङको सल्यानटार, नवलपुरको कावासोतीलगायतका क्षेत्रमा केन्द्रहरु सञ्चालनमा छन्। अस्पतालले बाराको सिम्रौनगढ र चितवनकै ठोरीमा भने शल्यक्रिया सुविधासहितको केन्द्र सञ्चालन गरेको छ। यी केन्द्रमा १५–१५ दिनमा आँखाको शल्यक्रिया हुने सूचना अधिकारी घिमिरेले जानकारी दिए।
भरतपुर आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सुविधा पनि छ। घिमिरे भन्छन्, ‘हामीले देवघाटमा आँखाको नानी निकाल्छौं, त्यसपछि प्रशोधनका लागि तिलगंगा पठाइदिन्छौं अनि चाहिएको बेला मगाउँछौं।’ उनका अनुसार अस्पतालले ४३ जनाको नानी प्रत्यारोपण गरिसकेको छ।
अस्पतालले आँखा शैक्षिक कार्यक्रम पनि सुरु गरेको छ। एमबिबिएसपछि अध्ययन हुने आँखाको ३ वर्षको पढाइ यो अस्पतालमा पनि हुन्छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत २० जनाले पढ्ने गरेका छन्। त्यसैगरी दुईवटा मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी आँखाका विषयमा अध्ययनका लागि यो अस्पतालमा आउने गरेको घिमिरेले जानकारी दिए। त्यसबाहेक एसइइपछिको ३ वर्षे अपथाल्मोलोजिस्ट अस्स्टिेन्टको अध्यापन पनि अस्पतालमा हुन्छ। यसका साथै न्याम्सअन्तर्गतकै अप्टोमेटिस्ट भन्ने पढाइ पनि अस्पतालमा हुन्छ। यो प्लस टु गरेपछिको ४ वर्षे कोर्स हो।
अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि लक्षित आँखा चेकजाँच कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। अस्पतालले गत वर्ष १ सय ५३ विद्यालयका करिब १ लाख ६० हजार विद्यार्थीको आँखा जाँच गरेको थियो। सो क्रममा अस्पतालले १८ सय ३५ जनालाई निःशुल्क चस्मा पनि उपलब्ध गराएको छ।