काठमाडौं– विवादित स्वास्थ्य सचिव डा पुष्पा चौधरीले जाँदाजाँदै केही निर्णय पूर्व मितिमा गरेको र केही फायल गायब पारेको आशंका अख्तियार अनुसन्धान दुरुपयोग आयोगले गरेको छ। आयोगका अधिकारीले स्वास्थ्य मन्त्रालयका कर्मचारीलार्इ फोन गरेर सम्भावित निर्णय र गायब पारेका फायल पत्ता लगाउन भनेका छन्। उनले विवादित फाइल लुकाउने र प्रमाण नष्ट गर्ने काम गरेको हुनसक्ने अाशंका गरिएको हो।
दसैं सुरु हुनुअघि नै सचिव डा चौधरीको सरुवा भएपनि दसैंपछिको शनिवार समेत अबेरसम्म मन्त्रालयमा बसेर कामकाज गरेकी थिइन्। उक्त जानकारी पाएपछि अख्तियारले नै कार्यकक्षमा ताला लगाउन निर्देशन दिएको बुझिएको छ।
सरुवा भएको दुर्इ हप्तापछि पनि बिदाको दिन स्वास्थ्य मन्त्रालय पुगेर काम गरेपछि उनले अख्तियार दुरुपयोग गरेको आशंका उब्जिएको छ। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार सचिव डा चौधरीले पुरानो मितिमा केही फायल सदर गरेको र केही फायल लिएर गएको हुनसक्ने भन्दै खोज्न भनिएको छ।
स्वास्थ्य मन्त्रालयमा रहँदा उनका केही काम विवादित बनेपछि सरकारले उनलार्इ प्रधानमन्त्री कार्यालयमा तानेको छ। मुख्य सचिव लोकदर्शन रेग्मीका अनुसार उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी जिम्मेवारी नतोकी सरुवा गरिएको हो।
सचिव डा चौधरीलाई २८ असोजको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूह (जगेडा)मा राख्ने निर्णय गरेको थियो।
सरुवा भए पनि सचिव डा चौधरी शनिबार पनि मन्त्रालयमा पुगेकी थिइन्।
सचिव डा चौधरीले काठमाडौं नेसनल अस्पताललाई मापदण्ड विपरित स्विकृती दिएकी थिइन्। सञ्चारमाध्यममा उक्त खबर सार्वजनिक भएपछि उनले उक्त निर्णयको फाइल लुकाएर राखेकी थिइन्।
स्वास्थ्य सचिव रहँदा उनले छोरीलाई समेत सरकारी गाडी सहित अन्य सेवा सुविधा समेत गैरकानुनी रुपमा उपलब्ध गराउँदै आएकी थिइन्।