काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिद लगायतमा भ्रष्टाचार गर्ने जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख र फोकल पर्सनविरुद्ध मुद्दा दायर गरेको छ।
दादुरा, रूबेला, सुरक्षित मातृत्व, हात्तीपाइले रोग उन्मूलन, परिवार नियोजन, सूचना तथा सञ्चार केन्द्र स्थापना कार्यक्रमका साथै औषधि खरिदमा काम नै नगरी बिल भरपाई गर्ने प्रमुख भानुभक्त येङ्देनसहित लेखा अधिकृत दलमान राई, नायव सुब्बा हरिकुमार पोखरेल, खोप सुपरभाइजर प्रकाश अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो। एक आर्थिक वर्षमा ३ लाख ८१ हजार ८१ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले येङ्देन र लेखा अधिकृत राईलाई जनही ३ लाख ८१ लाख ८१ रुपैयाँ, नायब सुब्बा पोखरेलसँग २ लाख ४७ हजार ९१ र सुपरभाइजर अधिकारीसँग १ लाख ३३ हजार ९ सय ९० रुपैयाँ बिगो माग गरेको छ।
आर्थिक वर्ष २०६९/७० मा औषधि खरिद नै नगरी बिल-भरपाई बनाई भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा हानिनोक्सानी पुर्याउने बदनीयत गरेको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजायको माग पनि आरोपपत्रमा गरिएको छ।