धनगढी- नवजात शिशु र मातृमृत्यु दर घटाउन धनगढीमा मिडवाईफरी तालिम सुरु भएकाे छ।
सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजना तथा ल्याटर डे स्यान्ट च्यारिटिजको प्राविधिक सहयोगमा शनिबारदेखि तीन दिने तालिम सुरु भएको हो।
तालिममा जन्मिने बित्तिकै स्वासप्रश्वासमा अाउने समस्या र अत्यधिक रक्तश्राव हुने सुत्केरीलाई बचाउने तरिका सिकाइने हेल्पिङ्ग बेबिज ब्रिथहेल्पिङ्ग मदर्स सरभाइभ (बेब)का संयोजक रञ्जन ढुंगानाले बताए।
'तालिममा नवजात शिशुलाई श्वासप्रश्वास गर्न मद्दत गर्ने र सुत्केरीको रक्तश्राव व्यवस्थापन गर्ने तरिका सिकाइने छ,' कार्यक्रम संयोजक ढुंगानाले भने, 'सहभागीले कार्यस्थलमा गएर सहकर्मी तथा विद्यार्थीलाई सिकाउने छन्। यसले गर्दा नवजात शिशु र मातृमृत्यु दर घटाउन सहयोग पुग्नेछ।'
तालिममा प्रदेशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र 4 कलेजका मिडवाईफरी शिक्षक सहभागी छन्। कार्यक्रम संयोजक ढुंगानाले प्रदेश सरकारसँग समन्वय गरी प्रदेश सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा तालिम सञ्चालन गरिरहेको बताए।
धनगढीमा शुरु भएको तालिम उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले नवजात शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्यकर्मी नै भगवान् सरह रहेको बताए। उनले तालिम प्राप्त र सहयोगी स्वास्थ्यकर्मी भएमा जस्तोसुकै अवस्थामा पनि नवजात शिशु र नव सुत्केरीको ज्यान जोगाउन सहज हुने बताए।
सुदूरपश्चिममा नवजात शिशु र मातृ मृत्यु दर बढी रहेको उनले बताएका थिए। शिशु र सुत्केरीको स्वास्थ्यसँग सम्बन्ध राख्ने तालिम भएकोले यसले नवजात शिशु र मातृ मृत्यु दर घटाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।