बाली- इन्डोनेसियाको बालीमा एशिया प्यासिफिक उपक्षेत्रीय सूर्ति नियन्त्रण नेतृत्व कार्यक्रम सुरु भएको छ। जोन हप्किन्स युनिभर्सिटीका एशोसिएट साइन्टिस्ट स्टिभ ट्याम्पिलिन सूर्ति घन्टी बजाएर कार्यक्रम सुरु भएको घोषणा गरे।
सूर्तिजन्य पदार्थ निर्माण उद्योग विरुद्ध चुनौतीको घन्टीको संकेतका रुपमा बजाइएको थियो। विभिन्न ८ देशका सरकारी, गैरसरकारी र पत्रकारिता क्षेत्रका ८० सहभागीले सूर्तिजन्य पदार्थको सेवन निर्मुल पार्ने उद्देश्यका साथ पाँचदिनसम्म छलफल गर्नेछन्।
एशोसिएट साइन्टिस्ट ट्याम्पिलिनले कार्यक्रमको उद्देश्य सूर्तिजन्य पदार्थको सेवन विरुद्ध जुध्ने नेतृत्व निर्माण आयोजना गरिएको बताए। उनले भने, 'सूर्तिजन्य पदार्थ विश्वव्यापी चुनौती हो। यसको सेवनबाट करोडौंले ज्यान गुमाइरहेका छन् । यसका विरुद्ध हामी एक भएर लड्नुपर्छ।'
सूर्तिजन्य पदार्थको नियन्त्रणमा लामो समयदेखि काम गरिरहेको द युनियनका उप क्षेत्रीय निर्देशक डा तारासिंह बमले सूर्तिजन्य पदार्थ सेवन विहीन विश्व बनाउनका लागि सवै क्षेत्रको उत्तिकै भूमिका हुने बताए । यसका लागि जोन हप्किन्स युनिभर्सिटीले खेलिरहेको भूमिकाको उनले प्रशंसा गरे । सूर्तिजन्य पदार्थको प्याकेटमा ९२.५ प्रतिशत पिक्टोरियल अवारनेस अंकित गर्न सफल भएकोमा टिमोर लेट्सेका सूर्तिजन्य पदार्थको नियन्त्रणका अभियन्तालाई बधाई दिए।
इन्डोनेसिया स्वास्थ्य मन्त्रालय, रोग नियन्त्रण तथा रोकथाम विभागका महानिर्देशक अनुग सुगिहेन्टोनोले पछिल्ला वर्षहरुमा इन्डोनेसियाले सूर्तिजन्य पदार्थ सेवन नियन्त्रणमा प्रगति गरिरहेको बताए। सूर्तिजन्य पदार्थ सेवनदर घटाउन स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम ल्याइरहेको पनि उल्लेख गरे ।
यसैगरी बाली सिटीका गभर्नर इदा बेगस काडे सुभिक्सुले सूर्तिजन्य पदार्थको नियन्त्रण आफूहरु प्रतिबद्ध रहेको बताए। इन्डोनेसियाको सुन्दर टापुमा भइरहेको कार्यक्रम सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि लाभदायी बन्ने अपेक्षा व्यक्त गरे।
11 संगठन इन्डोनेसियाका प्रतिनीधि डा फारुक कुरैसीले सूर्तिजन्य पदार्थ सेवन र यसबाट विश्वमा भइरहेको स्वास्थ्य, आर्थिक र सामाजिक हानीका विषयमा प्रस्तुति राखे।
नोभेम्बर ४ देखि ९ सम्म चल्ने कार्यक्रममा नेपाल, फिलिपिन्स, भियतनाम, म्यानम्यार, कम्बोडिया, इन्डोनेसियालगायतका देशका प्रतिनीधि सहभागी छन्।
विश्वमा हुने १० मध्ये एउटा मृत्यूको कारण धुम्रपान रहेको छ। मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित सो अध्ययनमा धूम्रपानलाई मृत्यु र अशक्तताको कारक मानिएको छ । अध्ययनअनुसार सुर्तीजन्य उत्पादनका कारण हुने कुल मृत्युमध्ये आधा संख्या अमेरिका, रसिया, चीन र भारतमा हुने गरेको छ।
नेपालमा पनि वार्षिक २७ हजारको सूर्तिजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको तथ्यांक छ।