बाँके- निराक्षी बर्मा स्वास्थ्य चौकीको शय्यामा पल्टिरहेकी थिइन् भने धनदेवी रावत भित्र भुइँमा बसेर ऐया–ऐया गर्दै थिइन्। अरु दुईजना कविता परियार र केशरा यादव चौकीकै बाहिर ढोका छेउमा खुट्टा पसारेर बसिरहेका थिए। निराक्षी, धनदेवी, कविता र केशराको त्यसदिन सुत्केरी हुने दिन तोकिएको थियो।
विभिन्न गाउँका यी चारैजना अघिल्लै दिन अर्थात् कात्तिक १० गते नेपालगञ्ज–२० स्थित मनिकापुर स्वास्थ्य चौकीमा आएका थिए। स्वास्थ्य चौकीमा एउटामात्रै शय्या भएकाले सोही शय्यामा बसेकी निराक्षी मात्रै होइन भुइँमै रहेका अन्य तीन जना पनि बेथा लागेर छटपटाइरहेका थिए।
अनमी आशा सार्कीलाई यता हेर्नु कि उता हेर्नु भएकाले उनी कहिलेभित्र कहिले बाहिर गर्दै थिइन्। सुत्केरी गराउने ठाउँ र एउटा शय्यामात्रै रहेकाले चारजनामध्ये कसको पहिला पाठेघरको मुख खुल्छ, उसैलाई भित्र लैजान उनी तयारी गर्दै थिइन्।
“सबैको ८–८ सेन्टिमिटर पाठेघरको मुख खुलेकाले एकै पटक होलाजस्तो छ, भुइँमै बच्चा जन्माउने भए”, अनमी सार्कीले त्यसबेलाको समस्या सुनाउँदै भनिन्, “कम्तीमा ३–४ वटा शय्यासम्म भइदिएको भए सुत्केरी हुन आएकाहरु यसरी भुइँमा त बस्नु पर्थेन।” शय्याकी निराक्षी, भित्र भुइँमा रहेकी धनदेवी र बाहिर ढोकाछेउमा भुइँमा बसेका कविता र केशराले कष्टपूर्ण आवाज निकालिरहँदा अनमी सार्कीको आँखाबाट आँशु आइरहेका थिए।
उनले आफूले राम्ररी काम गर्न नसकेर होइन कि बस्नेसम्म ठाउँ नभएर बेथाले च्यापेका महिलाको पीडा देख्न नसकेर आँसु झारिरहेकी थिइन्। बेथाले च्यापेका महिलामध्ये कोहीले बान्ता गरिरहेका थिए। कोहीले बसेकै ठाउँमा दिसा चुहाएका थिए। अन्तिम अवस्था भएकाले शौचालय जाँदा उतै बच्चा खस्ने चिन्ताले सकेसम्म उनीहरूलाई उठ्न समेत दिइएको थिएन।
स्थानीयवासी र करारमा स्वास्थ्य चौकीमा काम गरिरहेकी अनमी सार्कीसहितले सुत्केरी बेथा लागेका महिलाले बस्ने ठाउँ नपाएका कारण प्राङ्गणमै रहेको टायलले छाएको जीर्ण घरमा सफा गर्न लगाएर बस्नेसम्मको मेसो मिलाएका थिए। त्यो जीर्ण घरको टायल कतिबेला खसौँलाजस्तो गरी झुण्डिरहेको थियो।
यसैबीच अपराह्न चारमध्ये धनदेवीले पहिला बच्चा जन्माइन्। उनले दुई किलो ८०० ग्रामको छोरी जन्माएकी थिइन्। छोरी जन्माएकी धनदेवीलाई अनमी सार्कीले दिउँसो सफा गरिएको टायलले छाएको घरमा बस्ने व्यवस्था मिलाइन्। अरु तीनमध्ये निराक्षी बच्चा जन्माउने तरखरमा रहेकी र उनकाे पाठेघर पनि खुलिसकेको थियो। रातिसम्ममा सबैजना सुत्केरी हुने अनमी सार्कीले बताइन्।
उक्त स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेहरूको सङ्ख्या अधिक छ। उनका अनुसार गत साउनयता ६५ जना यस स्वास्थ्य चौकीमा आएर सुत्केरी भएका थिए। कात्तिक ९ र १० गते यहाँ आएका अफसरुन खाँ, कमरजहाँ पठानी, रेश्मी खान र गुडिया बेहनाले शनिबार बच्चा जन्माएका थिए।
सुत्केरीको यत्रो चाप रहेको मनिकापुरमा शय्या भने एउटा मात्रै छ। विगत चार वर्षदेखि शय्या सङ्ख्या बढाउन माग गरे पनि सुनुवाइ भएको छैन। स्वास्थ्य चौकीमा दैनिक तीन-चारजना सुत्केरी हुन आउने गरेका छन्। प्राङ्गणमै रहेको वडा कार्यालयका अध्यक्ष कृष्ण कार्कीले छिट्टै जीर्ण घरलाई व्यवस्थित गरेर शय्या थप्ने बताए।
गतवर्ष १२६ जनाले यस स्वास्थ्य चौकीमा आएर बच्चा जन्माएका थिए। पन्ध्र हजार जनसङ्ख्या रहेको मनिकापुरमा स्वास्थ्य चौकीमै गएर बच्चा जन्माउने लहर नै चलेको छ।
अनमी सार्कीले सुत्केरी हुने शय्या दुई वटा र बस्ने चार वटा शय्या भइदिए सहज हुने बताइन्। अझ रातको समयमा उक्त स्वास्थ्य चौकीकी अनमी सार्कीलाई आपत् नै पर्छ।त्यसमाथि पनि विद्युत अबरुद्ध भएका बेलामा बैकल्पिक बत्तीको व्यवस्था छैन। उक्त स्वास्थ्य चौकीमा जेनेरेटर वा सोलार जडानका लागि पहल भइरहेको वडाध्यक्ष कार्कीले बताए।रासस