रुपन्देही – गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं. ६ स्थित श्री प्राथमिक बिद्यालय लहरेपिपलको भवनमा डायलाईसिस सेवा संचालन गरिने अस्पतलाले जनाएको छ।
तानसेनमा डायलाईसिस सेवा सञ्चालन भएपछि पाल्पा संगै छिमेकी जिल्लाहरु अर्घाखाँची, गुल्मी, स्याङ्जा र बागलुङ्गबाट समेत नियमित रुपमा मिर्गौला डायलाइसिस गराउन बुटवल आउनुपर्ने बिरामीहरुलाई राहत मिल्ने छ । डायलाइसिस सेवाको अभावमा हाल सो क्षेत्रका मिर्गौला बिरामीहरु बुटवल, भैरहवा, चितवन तथा काठमाडौंमा पुगेर सेवा लिन बाध्य छन् ।
हाल पाल्पा जिल्लाबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र नियमित ४८ जना मिर्गौलाका विरामीहरु डायलाइसिस सेवा लिन आउने गरेका छन् । त्यो संगै पाल्पाको लागि पायक पर्ने गुल्मी, अर्घाखाँची, स्याङ्जाको र बागलुङ्गबाट ६२ जना बिरामी नियमित डायलाइसिसको लागि आउने गरेको अस्पतालले जनाएको छ।
मिर्गौलाको डायलाइसिसको लागि हप्तामा २ देखि ३ पटकसम्म बाहिर जानुपर्ने बिरामीहरुको सोही बाध्यतालाई मध्यनजर गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सेवा सञ्चालनको लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकासँग स्थान उपलब्ध गराउन आग्रह गरेको थियो।
अस्पतालको आग्रह अनुरुप जिल्ला समन्वय समिती पाल्पाको पहलमा प्रदेशसभा सदस्य, जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, राजनैतिक दलका प्रतिनिधी, विभिन्न संघ संस्था र सरोकारवालाहरु सहितको सर्वदलीय, सर्र्वपक्षीय भेलाले बन्द अवस्थामा रहेको विद्यालयको उक्त भवन डायलाइसिस सेन्टरको लागि उपलब्ध गराउने निर्णय गरेको हो।
रोटरी इन्टरनेशनलको सहयोगमा १० वटा मेसिन जडान गरी मंसिर महिनासम्म डायलाइसिस सेवा सञ्चालन गरिने अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए। गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मृगौलाको डायलाईसिसको लागि स्वास्थ्य मन्त्रालयमा सूचिकृत भई बिरामीहरुलाई निःशुल्क सेवा दिँदै आएको छ । डायलाइसिस सँंगै मिर्गौलाका बिरामीले गर्नुपर्ने नियमित रगत परिक्षण समेत अस्पतालले निःशुल्क गर्दै आएको छ।