काठमाडौं- महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा ९० प्रतिशत कलेजो काटेर फाल्नु पर्ने अवस्थामा रहेका एक बिरामीको सफल शल्यक्रिया भएको छ। विराटनगर घर भएका ४२ वर्षिय एक बिरामीको सफल शल्यक्रिया भएको हो। शल्यक्रिया सफल भएपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टिमले ती बिरामीको सफल शल्यक्रिया गरेको हो। शल्यक्रिया गर्ने टिममा डा भण्डारीसहित डा राजेश मन्डल र डा निराजन सुवेदी थिए। उनीहरुलाई डा कार्तिकेश ठाकुर, डा शंकर र डा नविनले सहयोग गरेका थिए।
यस्तै इन्टरभेन्सनल रेडियोलोजिष्टमा डा दिनेश चटौत र डा अजित थापा थिए। एनेस्थेसियामा डा अनिल श्रेष्ठ र डा अमृत भट्टराई थिए भने क्रिटिकल केयर विज्ञमा डा सुवाश आचार्य र डा प्रमेश श्रेष्ठ थिए।
यसरी सम्भव भयो शल्यक्रिया
डा भण्डारीका अनुसार ती बिरामीको कलेजोको दायाँ भागमा क्यान्सर भएको थियो। क्यान्सरका कारण उनको कलेजको ९० प्रतिशत भाग काट्नु पर्ने अवस्था थियो। १० प्रतिशत मात्र कलेजो राख्दा मानिसको बाँच्ने सम्भावना हुँदैन। कलेजोको ३० प्रतिशत भाग भएमा मानिस बाँच्दछ।
डा भण्डारीको टीमले बिरामीको क्यान्सर भएको दायाँ भागमा गएको रगतको नासालाई बन्द गराइदिए। ‘यसो गर्दा बायाँ भागको कलेजो बढ्ने सम्भावना रहन्छ। हामीले ६ हप्तामा ती बिरामीको कलेजोको बायाँ भाग बढेर ३० प्रतिशत पुग्छ भन्ने अनुमान गरेका थियौँ,’ उनले भने, ‘६ हप्तापछि हेर्दा उनको कलेजोको स्वस्थ भाग १० प्रतिशतबाट बढेर ३० प्रतिशत भन्दा माथि भइसकेको रहेछ।’
त्यसपछि डा भण्डारीको टोलीले ती बिरामीको कलेजोको दायाँभाग पुरौ काटेर फालिदिएका थिए। चिकित्सकिय भाषामा यसलाई ‘राइट एक्सटेन्डेन्ट हेपाटेक्टोमी’ भन्छन्।
डा भण्डारीको अनुसार त्रिवि शिक्षण अस्पतालमा यस्तो खालको शल्यक्रिया अहिलेसम्म भएको छैन। ‘यो शल्यक्रिया नै यहाँ भएको पहिलो सफल शल्यक्रिया हो,’ उनले भने, ‘टीमको सहयोगका कारण नै यस्तो खालको जटिल शल्यक्रिया यहाँ सफल भएको हो।’
अस्पतालमा कलेजो प्रत्यारोपणको तयारी भइरहेको समयमा यस्तो जटिल शल्यक्रिया सफल हुनु सुखद कुरा रहेको भण्डारी बताउँछन्। ‘कलेजो प्रत्यारोपणका लागि यस्ता खालको शल्यक्रियाले ठूलो सहयोग गर्छ,’ उनले भने, ‘अहिले शल्यक्रियामा सहभागि टीम नै कलेजो प्रत्यारोपण गर्ने टीम समेत हो।’
उनका अनुसार अस्पतालमा कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी पुरा भइसकेको छ। प्रत्यारोपणका लागि सरकारले लाइसेन्स दिएपछि अस्पतालमा पनि नियमित कलेजो प्रत्यारोपण सेवा सुरु हुनेछ।