काठमाडौं– सूर्ति उद्योगबाट राम्रो राजस्व उठेको कारण देखाएर सरकारले यसको पक्षपोषण गर्न नहुने पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले बताएका छन्। सूर्ति उद्योगबाट देशका लागि राजश्व उठेको बताउनु पापको धन लिएर पूण्य आर्जन गरेजस्तै रहेको उनले बताएका हुन्।
जनताको स्वास्थ्यलाई हानी गर्ने उत्पादन नियन्त्रणका लागि राजश्व बढाउँदै लैजानुपर्ने उनले बताए। उनले भने, ‘राज्यले यस्ता उत्पादन नियन्त्रण गर्नुपर्छ। यसको उत्पादन वृद्धिबाट आउने राजश्वको लोभ गर्नुहुँदैन।’
सूर्तिजन्य पदार्थको नियमन तथा नियन्त्रणका लागि कानूनको प्रभावकारी कार्यान्वयनका लागि राजधानीमा आयोजित बहुपक्षीय पैरवी बैठकमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘यसले हजारौंको ज्यान लिने तथ्यांक सार्वजनिक भएको छन्। यस्तो घातक पदार्थ नियन्त्रण गर्नु राज्यको दायित्व हो।’
त्यसका निम्ति सरकारले कानून बनाएको भन्दै प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए। सूर्तिजन्य पदार्थको प्याकेजिङमा ९० प्रतिशत जानकारीमूलक चित्र र सन्देश राख्नुपर्ने सरकारको नियम विरुद्ध केही सूर्ति उद्योगी सर्वोच्च अदालत पुगेका छन्। २२ औं पटकसम्म मुद्दा सरको विषयमा बोल्दै उनले भने, ‘कतिपय अवस्थामा अदालतमा नियतबस विलम्ब गराइन्छ। यस्ता कम्पनीले नाफाखोरीका लागि विलम्ब गराउन सक्छन्।’
सरकारले चाहेअनुसार हानिकारक दर्शाउने चित्र अंकित गर्न सक्ने भन्दै त्यस विरुद्ध मुद्दा हाल्नु उपयुक्त नभएको बताए। यही अनुसार यस्तै प्रकृतिको मुद्दामा आफूले सरकारको कदमका पक्षमा फैसला गरेको जनाए। उनले भने, ‘ऐनमा बढाउन सक्ने भनेर लेखिएको छ। त्यसैले सरकारले बढाउन सक्छ।’
उनले सूर्तिजन्य पदार्थ हानिकारक रहेकाले यसमा बहश पैरवी नगरेर कानून कडा भन्दा कडा रुपमा कार्यान्वय हुनुपर्ने धारणा राखे।
पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले एउटा सूर्य टोबाकोका कारण विश्व समुदायमाझ नेपालको धज्जी उडेको भन्दा कानूनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताए। उनले भने, ‘वर्षमा २५ हजार मान्छे मार्ने उद्योग हामीलाई चाहिंदैन।’ आफू स्वास्थ्य मन्त्री हुँदा प्रधानमन्त्री तहबाट समेत सूिर्त उद्योगीले दबाब सिर्जना गरेपनि पछि नहटेको उनको भनाइ थियो। उनले प्रहरी र प्रशासनलाई भने, ‘कानून कार्यान्वय नगर्नेहरुमाथि रेड हान्नुहोस्। हामी साथ दिन्छौं।’
नेपालले सूर्तिजन्य पदार्थ नियन्त्रणका विषमा लिएको अडानलाई लिएर एक करोड रुपैयाँ बराबरको ब्लुमवर्ग फ्रिलान्थोपी अवार्ड समेत हासिल गरेको बताउँदै त्यसको समेत उपयोग नभएको दुःख मनाउ गरे।
राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले जनताको स्वास्थ्यसँग जोडिएको विषयका कानून कार्यान्वयन यथाशिघ्र गर्न जोड दिए। कानून कार्यान्वयन गर्ने नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्धक्क भएर अघि बढ्न प्रेरित गरे। उनले भने, ‘कानून कार्यान्वयन गर्न नडराउनुहोस्। कार्यान्वयन गरेका विषयमा कसैले दबाब दिन्छ भने संसदमा हंगामा गर्न पनि म तयार छु।’
सार्वजनिक पदमा बसेको मान्छेले सूर्तिजन्य पदार्थको सेवन गरे कारबाही गर्नुपर्ने कानून ल्याउनुपर्ने धारणा उनको थियो। सूर्तिजन्य पदार्थको सेवनकर्तालाई सार्वजानकि पदमा जान अयोग्य घोषित गर्नेसम्म व्यवस्था हुनुपर्ने उनले जनाए।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा सुशिल प्याकुरेलले सूर्तिजन्य पदार्थको उपभोग र वायु प्रदुषण नियन्त्रण अहिलेको जल्दोबल्दो समस्या रहेको बताए। उनले कानून कार्यान्वयनमा कमजोरी रहेको स्वीकार्दै आफ्ना तर्फबाट प्रतिबद्ध रहेको बताए।
स्वास्थ्य मन्त्रालयका नीत तथा योजना महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले हाल ९० लाखको क्यान्सरका कारण मृत्यु हुने गरेको बताउँदै क्यान्सरको प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन रहेको बताए। उनले भने, ‘माओवादी युद्धको समयमा १८ हजार मान्छे मरेका थिए। त्यो बराबर धुम्रपान सेवन गरेका कारण हरेक वर्ष नेपाली मरिरहेका छन्।’
स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका टोबाको कन्ट्रोल शाखा प्रमुख डा भक्तबहादुर केसीले नेपालमा ५० लाख भन्दा बढीले सूर्तिजन्य पदार्थको सेवन गरिरहेको बताए। उनले हरेक वर्ष हजारौंको यसैका कारण मृत्यु भइरहेको बताउँदै नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन जरुरी रहेको बताए।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानून कार्यान्वयनमा रहेको कमजोरी औंल्याउँदै अदालतमा मुद्दा दायर गरेर सूर्ति उद्योगले चलाखी गरिरहेको बताए। मुद्दा दायर गरेर पटक–पटक सार्ने खेलका कारण कानून कार्यान्वयनमा चुनौती थपिएको तर्फ सचेत गराए।
सूर्तिजन्य पदार्थको प्याकेजिङ वा बट्टामा हानिकारक जनाउने सन्देशमूलक चित्र अंकित गर्दा सेवन घटेको तग्थ्यांक प्रस्तुत गरे। उनले भने, ‘दिनमा ११ वटासम्म चुरोट सेवन गर्ने व्यक्ति चित्र अंकित गरेपछि ५ वटा मात्रै गर्न थालेको पाइएको छ। त्यसैले सूर्तिजन्य पदार्थको नियन्त्रणमा पिक्टोरियल हेल्थ एउटा प्रभावकारी कार्यक्रम हो।’
क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र बरालले ६० प्रतिशत क्यान्स्र सूर्तिजन्य पदार्थको सेवनबाट भइरहेको तथ्यांक प्रस्तुत गरे। उनले भने, ‘सूर्तिजन्य पदार्थको असर टाउकोदेखि खुट्टासम्म छन्।’ उनले सकेन्ड ह्यान्ड स्मोकिङ अझ डरलाग्दो रहेको बताउँदै यसको नियन्त्रणमा सवै उत्तिकै लाग्नुपर्नेमा जोड दिए।
प्रहरी उपरीक्षक अशोक सिंहले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवनमा कडाइ गर्न सकिने बताए। यसका लागि एउटा मेकानिज्म तयार पारेर अघि बढ्नुपर्ने तर्फ समेत उनले औंल्याए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद अधिकारीले सूर्ति स्वास्थ्यसँग मात्रै नभए समाज र सभ्यतासँग समेत जोडिएकाले नियन्त्रण जरुरी रहेको बताए। उनले भने, ‘यसका नियन्त्रणका लागि हमी सवै नियाय मिलेर एकसाथ अघि बढ्नुपर्छ।’ सूर्य टोबाकोले कानून नमानेको विषयमा आफू एक्सनमा उत्रिने उनले जानकारी दिए।
मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले सूर्तिजन्य पदार्थको सेवनबाट सवै भन्दा धेरै क्षति मुटुले बेहोर्नुपर्ने बर्ता। उनले भने, ‘पहिले दम र क्यान्सर मात्रै हुन्छ भनिन्थ्यो। तर हृदयताघातको मुख्य एक कारण समेत सूर्तिजन्य पदार्थको सेवन हो।’ जति कम उमेरमा यसको सेवन सुरु भयो हृदयाघातको सम्भावना पनि त्यति नै बढ्ने उनले जनाए।
कार्यक्रममा डा राजेन्द्र पन्त, डा रमेश खरेल, कानून व्यवसायी रामचन्द्र शर्मालगायतले आफ्ना धारणा राखेका थिए।