काठमाडौं- थापाथलीस्थित प्रसूति गृह। पुरानो भवनको क्याबिन नं ५।
खाटमा सुतिरहेकी छिन् गंगा प्रजा। उनको आडैमा आमा राममाया बसिरहेकी छन्। छेवैको मुढामा, गंगाका श्रीमान् रञ्जित प्रजा।
मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगा कलिलै उमेरमा आमा बन्न लागेको समाचार सार्वजनिक भएपछि उनलाई प्रसूति गृह ल्याइएको छ।
सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो।
गंगामाया सुतेको बेड छेवैमा केही फलफूल, बिस्कुट,जुस राखिएका छन्।
गाउँघरमा गाेठमा बसेकी उनी प्रसूति गृहमा राखिएको कोठामा अभ्यस्त भइसकेकी छैनन्। छट्पटि हुने रहेछ उनलाइ एकैठाउँमा बस्दा।
बेडमा ओढ्ने ओछ्याउने भए पनि गंगाले ओढ्न मन गर्दिनन्।
अस्पताल आएर सुरक्षित तरिकाले बच्चा जन्माउने आशामा बसेका छन् उनका परिवार।
गंगाको परिवारको आर्थिक अवस्था राम्रो छैन। उनका ६ दाजुभाइ छन्। संयुक्त परिवारको संख्या छ २०। परिवारमा गरिबी छ। खान लाउन राम्ररी पुग्दैन। यस्तो बेला उनको स्याहारसुसार राम्रोसँग हुनै पाएन।
पाँच महिनादेखि सम्पर्कविहीन भएर बसेका उनका श्रीमान् अहिले सम्पर्कमा आएका छन्।
र, उनले नै लिएर आएका छन् श्रीमतीलाई।
मंगलबार बेलुकी ६ बजे काठमाडौ आएका थिए उनीहरु।
कलिलैमा बिहे गरेकी गंगाका श्रीमान्ले वास्ता नगरेपछि उनी माइतीमै बसेकी थिइन्।
गंगा गर्भवती हुँदा पनि उनको माया लागेन? किन छोडेर गएको भन्ने प्रश्नमा उनी एकछिन बोल्न सकेनन्। बिस्तारै बोले मधुरो स्वरमा, ‘बुवा बिरामी हुनुभएको थियो। त्यसैले अस्पतालमै व्यस्त रहँदा सम्पर्क हुन सकेन। मलाई गंगाको माया लाग्छ, अबदेखि कहिले छोडेर जान्नँ।’
बुवा भएपछि गर्नुपर्ने दायित्व पूरा गर्ने र पालनपोषणमा ध्यान दिने उनले बताए। 'आफूले त पढ्न पाइनँ बच्चालाई पढाउँछु,’ उनको अनुहारमा खुसी झुल्कियो।
१८ वर्षीय रञ्जितको घर गंगामायाको भन्दा ४ घन्टा टाढा कैलाश गाउँपालिका–७ डुम्बरेमा पर्छ। नपढेका उनी आफ्नो परिवार पाल्न ज्यामी काम गर्दै आएका छन्।
गगाको पेटमा अहिले ९ महिनाको बच्चा हुर्किइरहेको छ।
उनकी आमा राममाया भन्छिन्,'केही खानै मन गर्दैन गंगाले। चिया, बिस्कुट, अण्डा जे ल्याउँदा पनि खान मनगर्देन। अघि बदाम ल्याएर खान दिएकी थिएँ। त्यो पनि खान मन गरेन।'
अहिले जाडोको मौसम छ। तर पनि उनी केही ओढ्ने नओढेरै सुतेकी छिन्।
राममाया हाँस्दै भन्छिन्, 'रातभर पनि ओढ्नेबिना नै सुत्छे, पहाडमा हुर्केकी छोरीलाई जाडो नलाग्ने होला।'
उनी आफ्नी छोरीको स्याहारसुसारमा दिलोज्यान दिएर लागेकी छिन्।
‘हाम्रो समाजमा सानैमा आफै बिहे गर्ने चलन छ, आफै भागेर जान्छन्। मेरा सबै छोराछोरीहरुले आफै बिहे गरे,' उनी भन्छिन्, 'कसैको पनि अहिलेसम्म आफैले गरिदिएका छैनौँ। के गर्नु खिन्न त लाग्छ नि।’
अब सुत्केरीपछि भविष्य राम्रो बनाउन गंगालाई सिलाइकटाइको तालिममा लगाइदिने सोचेकी छन् राममायाले।
'के गर्नु सानैमा भागेर विवाह गरी, मेरो एक मात्र चिन्ता थियो उसलाई कसरी सजिलो तरिकाले प्रसूति गराउने भनेर,' उनले सुनाइन्, 'तर अहिले यहाँ आएपछि ढुक्क भएका छौँ।'
गंगामायाको चेकजाँच गर्दा डाक्टरले अवस्था ठिकै भनेका छन्। आज भिडियो एक्सरे गरिएको छ। भोलि रिपोर्ट दिने भनेका छन्।
चेपाङ समुदायकी गंगा त प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता कैयौँ बालिकाले सानैमा बिहे गरी बच्चा जन्माउने गरेका छन्। भोकमरी, कुपोषण, गरिबीले गाँजेको उनको समुदायमा सानैमा बिहे गरी बच्चा जन्माएका आमा र शिशुले पोषणयुक्त खानेकुरा र न्यायो लुगाबाट वञ्चित हुन्छन्। त्यसैले धेरैको मृत्यु हुने गरेको छ।
राममाया भन्छिन्,'हाम्रो कुरा पत्रपत्रिकामा आयो, अहिले सबैले चासो दिन थालेका छन्। छोरीलाई सहज रुपमा सुत्केरी गराउने मेरो चिन्ता हटेको छ।'
सुत्केरी हुँदा खर्च सबै खर्च सरकारले निःशुल्क गर्ने भनेको उनले सुनाइन्।